• १२ मंसिर २०८१, बुधबार

१७७ मुलुकसँग दौत्य सम्बन्ध

blog

काठमाडौँ, साउन १५ गते ।  विश्वका १९५ मुलुकमध्ये १७७ मुलुकसँग नेपालको दौत्य सम्बन्ध कायम भएको छ तर त्यो दौत्य सम्बन्धको मियोका रूपमा काम गर्ने दूतावासको विस्तार, तिनको सक्रियता र प्रभावकारिता भने कमजोर देखिएको छ। 

छिमेकी मुलुक, प्रमुख शक्ति राष्ट्र मुलुक, दक्षिण एसियाली मुलुक, विकास साझेदारलगायत सबै राष्ट्रसँग नेपालको मैत्रीपूर्ण सम्बन्ध भन्ने नेपालको परराष्ट्र नीतिको मूल मर्मअनुसार दौत्य सम्बन्ध विस्तारमा सरकारको ध्यान केन्द्रित छ। सोहीअनुरूप सबैभन्दा पुरानो मित्र बेलायतदेखि नयाँ मित्रराष्ट्र मुलुक ट्रिनिडाड एन्ड टोबागोसम्म आइपुग्दा १७७ मुलुकमा सम्बन्ध विस्तार भएको हो। सन् २०१५ यता भूकम्प, कोभिड–१९ महामारीलगायतका समस्याकाबीच पनि सात वर्षमा ३६ वटा नयाँ मुलुकसँग मित्रता गाँसिएको छ।

मित्रता विस्तारको तुलनामा परराष्ट्र मन्त्रालयले जम्मा ३० वटा देशमा मात्र नेपालका राजदूतावास कायम गर्न सकेको छ। एउटै राजदूतले पाँचवटासम्म देश हेर्नुपर्ने दयनीय अवस्था छ। तिनमा पनि सबै दूतावासमा राजदूत पठाइसकेको अवस्था छैन। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार पछिल्लो समय खाली रहेका २० दूतावासमा जाने राजदूतमध्ये १६ जनाको मात्र एग्रिमो आएको छ। अन्य चार मुलुकबाट एग्रिमो आउन बाँकी छ। हालसम्म २० जनामध्ये चार जना मात्र कार्यभार सम्हाल्न छिमेकी मुलुक पुग्नुभएको छ। तीन जनाको नियुक्ति प्रक्रियामा छ। यस्तो ढिलाइले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमै असर पुग्ने गरेको छ। दूतावास भएका मुलुकले पनि सशक्त रूपमा देशको हितमा काम गरेर लाभ भित्र्याउन नसकेको गुनासो कूटनीतिक वृत्तमा बढी छ।

मध्य एसियामै नेपालको उपस्थिति शून्य

धेरै मुलुकसँग सम्बन्ध राख्नु राम्रो भए पनि परराष्ट्र नीतिअनुसार व्यावहारिक सम्बन्ध कार्यान्वयन गर्न सक्ने गरी व्यवस्थापन गर्नुपर्ने विचार पूर्वराजदूत राजेश्वर आचार्यको छ। उहाँका अनुसार भएका ३० मा ३१ वटा बनाएर थप्नुपर्छ भन्ने छैन तर थोरै दूतावासलाई पनि प्रभावकारी रूपमा पुनः सङ्गठित गरेर लैजानुपर्ने देखिएको छ। 

उहाँले भन्नुभयो, “मध्य एसियामा नेपालको उपस्थिति शून्य छ, युरोपमा धेरै दूतावास छ, यसले सम्बन्धमा कसरी सन्तुलन कायम गर्छ।” मध्य एसियाको क्षेत्र भनेको दोस्रो धु्रवबाट अलग्गिएका मुलुकको नयाँ बसाइ हो। त्यता नेपालले ध्यान दिन सकेको छैन। 

आचार्यले थप्नुभयो, “दूतावास र राजदूतलाई बलियो बनाउन उसको कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गर्नुपर्छ, त्यो दूतावासले के–के काम ग-यो, के काम के कारणले गर्न सकेन त्यसको मूल्याङ्कन हुनुपर्छ। राम्रा काम गरेकालाई फेरि राजदूतमा दोहो-याउँदा फरक पर्दैन तर कामै नगर्नेलाई दोहो-याउन पठाउने चलन ठीक हैन।”