• ४ साउन २०८१, शुक्रबार

विश्व बाघ दिवस

बाघको विचरण क्षेत्र विस्तार गर्न आग्रह

blog

काठमाडौँ, साउन १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्यामा वृद्धिलगायतका विषयमा सम्बद्ध पक्षले ध्यान पु-याउनुपर्ने बताउनुभएको छ।

विश्व बाघ दिवस, २०७९ को अवसरमा शुभकामना दिँदै उहाँले बाघको संरक्षण र सङ्ख्या वृद्धि  नेपालको पर्यटन प्रवद्र्धन एवं आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने भएकाले संरक्षणका नवीनतम उपाय अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गर्नुभएको छ।

उहाँले शुभकामना सन्देशमा वन्यजन्तु संरक्षणका क्षेत्रमा विद्यमान नीति र कानुनी व्यवस्थालाई प्रकृति संरक्षणको अभिन्न  अङ्गका रूपमा कार्यान्वयन गर्न सबैको सक्रियताको आवश्यकता औँल्याउनुभएको छ।

जुलाई २९ तारिखका दिन संसारभर ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने सङ्कल्पका साथ विश्‍व बाघ दिवस मनाइँदै छ। यस अवसरमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु सन्देशमा उल्लेख गरिएको छ।

बाघको चोरी सिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणका लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाबाट विश्‍वव्यापी बाघ संरक्षणको पहलकदमीलाई सार्थक बनाउन थप मद्दत मिलेको सन्देशमा उल्लेख छ। 

जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जैविक विविधताको संरक्षण गर्न एवं स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा समेत योगदान गर्ने दुर्लभ वन्यजन्तु बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन विश्‍व बाघ दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास उहाँले सन्देशमा गर्नुभएको छ।