• १२ कात्तिक २०८१, सोमबार

अत्याधुनिक पेट्रोल पम्प बनाउँदै निगम

blog

काठमाडौँ, साउन १२ गते । नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण गर्ने भएको छ । 

काठमाडौँको टेकुस्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो । पाँच रोपनी जग्गामा सात करोड रुपियाँ लागतमा पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ ।

निगम प्रवक्ता विनीतमणि उपाध्यायले पेट्रोल पम्प निर्माणका लागि टेन्डर आह्वान गरिएको जानकारी दिनुुभयो । प्रत्येक प्रदेशमा एउटा/एउटा पम्प स्थापना गर्ने नीतिअनुरूप काठमाडौँमा आफ्नै लगानीमा पम्प निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुुभयो । 

पेट्रोल पम्पबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न हालसम्मकै उच्च सुरक्षा सतर्कता अपनाउने गरी पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ । टेन्डर भइसकेकाले ठेक्का लागेको एक वर्षमा निर्माण सम्पन्न गर्ने निगमको लक्ष्य छ । स्वचालित मेसिनबाट ग्राहक आफैँले तेल भर्न सक्ने सुविधासहितको पम्प नेपालमा पहिलो पटक स्थापना गर्न लागिएको हो ।  

निगमका प्रबन्धक एवं इन्जिनियर रामप्रसाद बन्जराले नेपालमै पहिलोपटक आधुनिक प्रविधिसहितको पम्प निर्माण गर्न लागिएको जानकारी दिनुभयो । “पम्प २४ घण्टै खुला हुनेछ, कार्डबाट उपभोक्ताले तेल हाल्ने सुविधा रहनेछ, पम्पमा आगलागी हुन सक्ने जोखिमलाई कम गर्न फायर हाइड्रेन्ड सिस्टम जडान गरिनेछ,” उहाँले भन्नुभयो । यहाँ आगो निभाउन पानी र केमिकल मिश्रित फोमको प्रबन्ध गरिने बताइएको छ । यसले आगोलाई माथिबाट छोप्ने गर्छ र तुरुन्तै आगलागी नियन्त्रण हुन्छ ।

पम्पमा भ्यापर रिकभरी सिस्टम (भीआरएस) राखिने हुँदा यसका कारण ट्याङ्करको तेल अन्डर ट्याङ्कीमा खसाल्ने क्रममा हावामा मिसिन पाउँदैन । यसबाट चुहावट नियन्त्रण गर्न मद्दत मिल्छ भने तेल हावामा मिसिन नपाई वातावरण संरक्षणमा समेत सघाउ पुग्ने बन्जराले जानकारी दिनुभयो । 

पम्पमा भीआरएस, हाइड्रेन्ड, कार्ड स्वाप सिस्टम जडान नेपालमै पहिलो पटक गर्न लागिएको उहाँको भनाइ छ । 

त्यस्तै ट्याङ्करमा ल्याएको तेल पम्पको भूमिगत ट्याङ्कीमा खसाल्दा र डिस्पेन्सिङ मेसिनबाट सवारीसाधनमा भर्दासमेत पेट्रोल डिजेल उडेर हावामा मिसिन नदिने प्रणालीसमेत यो पम्पमा जडान हुन लागेको उहाँले जानकारी दिनुभयो । पम्पमा पेट्रोल र डिजेलका दुई/दुईवटा डिस्पेन्सिङ मेसिन र डिजेल पेट्रोलका चार/चार गरेर आठवटा नोजल रहनेछन् । पम्पमा ४० हजार लिटर क्षमताको पानीको भण्डार राखिनेछ । 

भूमिगत ट्याङ्कीमा ४५ हजार लिटर डिजेल अटाउने तीनवटा ट्याङ्की र ६० हजार लिटर पेट्रोल अटाउने तीनवटा ट्याङ्की हुनेछन् । २४ घण्टा पम्प खुला हुने हुँदा बिजुलीको विकल्पमा सोलारसमेत जडान गरिनेछ । 

निगमले भैरहवा र नेपालगञ्जमा आफ्नो स्वामित्वमा पम्प निर्माण गरेर सञ्चालनमा ल्याएको छ । उपत्यकामा साझा सहकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका गरी १२ वटा पम्प सञ्चालनमा छन् । उपत्यकामा निजी क्षेत्रबाट तीन सय पम्प सञ्चालनमा छन् । 

निगम आफैँले पम्प सञ्चालन गर्दा बन्द हडतालका बेला समेत नियमित रूपमा सञ्चालन हुुँदा उपभोक्तालाई सहज हुने बताइएको छ । मुलुकभर निजी क्षेत्रबाट एक हजार पाँच सय पेट्रोल पम्प सञ्चालनमा छन् । उपत्यकामा मात्र दैनिक छ लाख ५० हजार लिटर पेट्रोल र १० लाख लिटर डिजेल खपत हुने गर्छ ।