काठमाडौं, साउन ११ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभएको छ । बुधबार उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो ।
सरकारको स्वामित्वमा सञ्चालन भइ नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिनहरुको अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।
मन्त्री बडूले सरकारले राष्ट्रिय उत्पादन बढाउनको निम्ति भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘स्वदेशी र विदेशी लगानी कर्ता नयाँ उद्योग खोल्नको लागि आकर्षण गर्न धेरै नीति तथा कायक्रम बनाएका छौं । पुराना उद्योगहरु पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने र त्यसको अतिरिक्त बन्द भएका नेपाल सरकारको स्वामित्वमा रहका केही समय चलेर रुग्ण भएका उद्योगहरु चलाउने नीति सरकारको छ ।’’
पुराना उद्योगहरु पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने र सरकारको स्वामित्वमा रुग्ण उद्योगहरु निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर भएपनि सञ्चालनमा ल्याउने उहाँले उल्लेख गर्नुभयो ।
‘‘अहिले बन्द रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग, गोरखकाली रबर उद्योग सरकारी स्वामित्वमा भएका पनि बन्द भएका छन् । निजी क्षेत्रका उद्योग पनि बन्द भएका छन् । उनीहरुलाई पनि राज्यले केके सहुलियत दिनुपर्छ, चलाउनु पर्छ । बन्द भएका उद्योग चल्न जरुरी छ । अहिलको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी छ । हामी धेरै आयातमुखी भएका छौं । मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिन्छ । जसले निर्यात गर्नसक्छ त्यस्ता उद्योग बढाउन सक्छ । निर्यात उद्योग चलाउनको लागि सरकारले विशेष सहुलियत दिने सरकारले नीति बनाएको छ । बन्द उद्योग चलाउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्छौं ।’’
मन्त्री बडूले अहिले सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल,जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग, गोरखकाली रबर उद्योग बन्द रहेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न,आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो ।
मन्त्री बडूले मुलुक आयातमुखी भइरहेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी रहेको बताउनुभयो । मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिने दाबी उहाँको छ । मन्त्री बडूले अब निजी क्षेत्र र सरकार दुवैले निर्यातजन्य उद्योग स्थापना गर्नुपर्ने बताउनुभयो ।
सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति बनाएको समेत बताउनुभयो । मन्त्री बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताउनुभयो ।