• २१ असार २०८१, शुक्रबार

सशस्त्र प्रहरीद्वारा करिब साढे दुई करोडको अवैध सामान बरामद

blog

सशस्त्र प्रहरीले नाकाबाट नियन्त्रणमा लिएको अवैध सामान । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन ११ गते । यहाँस्थित नेपाल–भारत नाकामा अवैध चोरी पैठारी र निकासी रोक्न सक्रिय रहेको सशस्त्र प्रहरीले ६ महिना अवधिमा करिब साढे दुई करोडको अवैध सामान नियन्त्रणमा लिएको छ । भन्सार राजस्व छलेर ठूलो परिमाणमा मालसामानको अवैध आयात निर्यात भैरहेको नेपालगञ्ज र सो वपिरिका नाकाबाट तस्करले भित्र्याउन खोजेको २ करोड ४१ लाख ६५ हजार ९१६ रुपियाँ बराबरमा अवैध सामान ६ महिनाको अवधीमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । 

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी जनक बस्नेतले गत आर्थिक वर्ष २०७८–७९ को माघ महिनादेखि असार मसान्तसम्म सशस्त्र प्रहरीले सो अवैध सामान नियन्त्रणमा लिएको बताउनुभयो । 

यो नाकाबाट प्रायः दैनिकजसो अवैध सामान बरामद गर्ने गरिएको जनाउँदै बरामद गरिएका सामानमा लत्ताकपडा, किराना सामान, पशुपंछी तथा माछा मासु, सुनचाँदी, मोटरपार्ट्स, हार्डवेयरका सामग्री, अवैध काठ, व्हाइट पप्पी सिडस् र विभिन्न किसिमका लागूऔषध लगायत रहेको प्रहरीको भनाइ छ ।  

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीका अनुसार बरामद गरिएका २ करोड ४१ लाख ६५ हजार ९१६ रुपियाँ बराबरका अवैध सामानमा ५४ लाख १ हजार ६७९ रुपियाँको लत्ता कपडा, ३५ लाख १९ हजार ३८३ रुपियाँको किराना सामग्री, ११ लाख ९ हजार ३५० रुपियाँ बराबरको पशुपंछी तथा माछा मासु, ९ लाख ४७ हजार ७१५ रुपियाँको सुनचाँदी, २५ लाख २२ हजार ८१९ रुपियाँ बराबरका मोटरपार्ट्स तथा हार्डवेयरका सामग्री, ७ लाख ४३ हजार १६० रुपियाँ बराबरका अवैध काठ र ९९ लाख २१ हजार ८१० रुपियाँ बराबरको व्हाइट पप्पी सिडस् छ । 

सशस्त्र प्रहरीले यी सामग्री बाहेक लागूऔषध ओसार पसारमा संंलग्न ६ जनालाई ब्राउनसुगर लगायत अन्य लागूऔषधसहित पक्राउ गरी आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइसकेको सशस्त्र प्रहरीका एसपी बस्नेतले बताउनुभयो । 

नाकामा निकै कडाई गरिएकाले यति धेरै सामान बरामद गर्न सफल भएको जनाउँदै उहाँले तस्करले खुला सीमानाकाको लाभ उठाएर तस्करी जारी राखेको हुन सक्ने बताउनुभयो । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७८–७९ मा ६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको थियो ।