• ३ साउन २०८१, बिहिबार

संवैधानिक नियुक्तिविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने

blog

काठमाडौं, साउन ११ गते । संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध परेको रिटमा आज बुधबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुने भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो ।

संवैधानिक निकायमा नियुक्त गरिएका ५२ जना पदाधिकारी तथा सदस्यहरुको नियुक्ति बदरको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेल र कीर्तिनाथ शर्मा पौडेलले सर्वोच्च अदालतमा दर्ता गर्नुभएको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

अधिवक्ता अर्यालले वि.सं. २०७७ मङ्सिर १ गते र वरिष्ठ अधिवक्ता त्रिपाठीले मङ्सिर २ गते सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

संवैधानिक इजलासमा रहेका उक्त मुद्दामा सुनुवाइका लागि बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलास गठन गरिएको छ ।

अधिवक्ता अर्याल, वरिष्ठ अधिवक्ता त्रिपाठीलगायतले दायर गर्नुभएको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाउ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।

यद्यपि, आजदेखि नियमित इजलासमा सुनुवाइ गर्ने तयारी गरिएको छ । मुद्दामा संवैधानिक नियुक्ति लिएका ५२ जना, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय संवैधानिक परिषद्का सदस्य विपक्षी छन् ।