• ३ साउन २०८१, बिहिबार

चन्द्रवीरको सपना सडक कालोपत्रे

blog

गोकर्ण पौडेल 

तुलसीपुर, साउन १० गते ।  उमेरले आठ दशक पुग्दै गरेका ज्येष्ठ नागरिक चन्द्रवीरको एउटै सपना छ आफैँले खनेको सडक कालोपत्रे गर्ने। तुलसीपुर उपमहानगरपालिकाका–३, साततलेका चन्द्रवीरले ७१ वर्षको उमेरदेखि राप्ती राजमार्गको तुलसीपुर–सल्यान सडकखण्डको साततलेदेखि खमारीसम्म तीन किलोमिटर सडक खन्नुभएको हो। 

साततले पहाडको चट्टान गैँची, बेल्चा, घनले फोड्दै उहाँले गाउँसम्म सडक पु-याउनुभएको हो। सडक खन्दै गर्दा ज्येष्ठ व्यक्तिको कामलाई कसैले पत्याएनन्, धेरैले भने चन्द्रवीरको दिवास्वप्ना मात्र हो।  यत्रो राज्यले त सडक खन्न सकेको छैन, एउटा बुढोले गाउँमा सडक पु-याउन सक्लान् भन्दै स्थानीयले साथ दिनुको सट्टा प्रश्न गरे। त्यो प्रश्नलाई चन्द्रवीरले मुखबाट हैन कर्मबाट जवाफ दिनुभएको छ। चार वर्षभित्रै तीन किलोमिटर सडक खनेर गाउँसम्म पु-याउनुभयो।

उहाँको सडक निर्माण सङ्घर्ष यतिमै सीमित रहेको छैन। उहाँको १३ जनाको परिवारमा नौ जना दृष्टिविहीन छन्। श्रीमती, तीन छोरा, तीन बुहारी र दुई जना नातिसमेत दृष्टिविहीन छन्। सबैको लालनपालनको जिम्मा ७८ वर्षीय चन्द्रवीरको काँधमा रहेको छ।  साततलेको चट्टाने पहाड छिचोल्न नसक्दा गाउँलेहरू सात किलोमिटर सडक हिँड्न बाध्य थिए। जब चन्द्रवीरले चट्टाने सडक छिचोल्नुभयो अब करिब तीन किलोमिटर हिँडेरै गाउँमा पुगिन्छ। 

आफूले खनेको सडकमा वर्षाका तीन महिनाबाहेक नौ महिनामा एम्बुलेन्स, अटो, मोटरसाइकल कुद्ने गरेको उहाँले बताउनुभयो। स्थानीय सरकारले उक्त सडकको नाम चन्द्रवीर मार्ग राखेको छ। त्योबाहेक वर्षायाममा आउने पहिरो छिचोलेर सडक सफा गर्ने गरेको छ। तर, पर्याप्त बजेट नहँुदा पुनर्निर्माण, फराकिलो र कालोपत्रे हुन सकेको छैन।  चन्द्रवीरको सपना छ, यो सडकमा ह्युम पाइप ओछ्याएर पहिरो नियन्त्रण गर्ने। आफ्नै जीवन कालमा आफैँले खनेको सडक कालोपत्रे बनोस्। उहाँ भन्नुहुन्छ, मेरो परिवारका नौ जना सदस्य दृष्टिविहीन भए पनि सडकको चिन्ता धेरै लाग्छ । उहाँले खमारी हुँदै पर्यटकीय स्थल चमेरे गुफा पुग्ने सडकसमेत खन्नुभएको छ ।  

यता नगरप्रमुख टीकाराम खड्काले चन्द्रबहादुर पालिकाकै गौरव पुजनीय व्यक्ति भएकाले उहाँको कर्मलाई सम्मान गर्न उक्त सडकको संरक्षणको सम्पूर्ण जिम्मेवारी पालिकाकै भएको बताउनुभयो। उहाँले भन्नुभयो, विगतमा के के भयो ? त्यो फरक कुरा हो अब तत्काल चन्द्रवीर मार्गको पहिरो पन्छाउन आवश्यक ह्युम पाइप, तारजालीको व्यवस्था हुन्छ। यस वर्षको बजेट विनियोजन भइसकेकाले आगामी वर्षको बजेटमा चन्द्रवीर मार्गलाई कालोपत्रे कार्यक्रममा राख्ने नगरप्रमुख खड्काले बताउनुभयो।