• ५ असोज २०८१, शनिबार

घाइतेको उपचारमा गृहमन्त्री खाणको चासो

blog

फाइल तस्बिर

काठमाडौँ, साउन ८ गते । गृहमन्त्री बालकृष्ण खाणले पाल्पाको रिब्दिकोटमा भएको बस दुर्घटना तथा सुनसरी र भक्तपुरमा रुख ढल्दा च्यापिएर घाइते भएकाहरूको उपचारबारे चासो लिनुभएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई टेलिफोन गरी छुट्टा छुट्टै दुर्घटनामा घाइते भएकाहरूको उपचारमा कुनै कसुर बाँकी नराख्न र थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभएको हो ।

गृहमन्त्री खाणले पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरू तत्काल अस्पताल पुराएर उपचार गर्न कुनै कसुर बाँकी नराख्न पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको जानकारी गृहमन्त्रीको निजी सचिवालयले दिएको छ ।

गृहमन्त्री खाणले अस्पताल पुराउन थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि भन्नुभएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जना घाइते भएको प्रजिअ पन्थले जानकारी दिनुभयो ।

उहाँले विरामी सबैलाई पाल्पाको मिसन अस्पतालमा पुराइएको बताउनु भयो । गृहमन्त्री खाणले घाइतेको उपचारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएको उहाँले बताउनु भयो । दुर्घटनामा तीन पुरुष र तीन महिलाको मृत्यु भएको खुले पनि कसैको पनि सनाखत हुन सकेको छैन ।

घाइते प्रायः सबैलाई गहिरो चोट लागेको प्रजिअ पन्थले बताउनु भयो । अर्को बसलाई साइड दिने क्रममा बस सडकबाट साढे दुई सय मिटर तल खोल्सामा खसेको थियो ।

यता सुनसरीका कोसी टापु बन्यजन्तु आरक्षभित्र रुख ढलेर स्कुटर च्याप्दा एकजनाको मुत्यु र एक जना घाइते भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिनुभएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिनुभएको हो ।

आरक्षभित्र ०१–०२–०४४ प ६६८१ नम्बरको स्कुटर सुकेको सिसौँको रुख ढल्दा च्यापिएर धरान उपमहानगरपालिका ११ बसोबास गर्ने २८ वर्षका धिरज तामाङको मृत्यु भएको र स्कुटरमा बसेका २८ वर्षीय सगेन्द्र बिष्ट घाइते भएको प्रजिअ यादवले जानकारी दिनुभयो । घाइते विष्टको अहिले विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

 त्यस्तै, भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा भएका घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

 गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिनुभयो । सल्लाको रुख ढलेर काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटीलाई च्याप्दा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको प्रजिअ शर्माले जानकारी दिनुभयो ।