• १३ असोज २०८१, आइतबार

मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनको काम शुरु

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ८ गते । निर्वाचन आयोगले मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकनको काम शुरु गरेको छ । आगामी मंसिर २ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको सरकारसँग परामर्श गरेको आयोगले पुनरावलोकनको गृहकार्य शुरु गरेको हो । यद्यपि सरकारले अझै निर्वाचनको मिति घोषणा गरिसकेको छैन ।

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी आयोगले मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकनको कार्य कार्ययोजना समेत बनाई सुरु गरेको बताउनुभयो । त्यसका लागि साउन १ गतेदेखि आगामी भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुनेगरी आयोगले गत असार ३१ गतेको निर्णयअनुसार कार्यक्रम स्वीकृत गरी जिल्लामा पठाएको आयोगले जनाएको छ । 

“सोही कामलाई प्रभावकारी बनाउन आज मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण समन्वय समितिको वैठक बसी आवश्यक पूर्वाधारसहितको पायक पर्ने स्थानमा मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिश गरी पठाउने सम्बन्धमा आवश्यक सहयोगका लागि लेखि पठाएको हौं” प्रवक्ता पौडेलले भन्नुभयो । 

सहजीकरण र समन्वयका लागि नेपाल सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई अनुरोध गरिएको प्रवक्ताद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

त्यस्तै, निर्वाचन आयोगले अनिवार्य रुपमा सहभागी हुन सम्बन्धित राजनीतिक दलका जिल्लास्तरीय संगठनलाई आवश्यक निर्देशन हुन आयोगमा दर्ता भएका सबै राजनीतिक दललाई पत्राचार गर्ने निर्णय भएको प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।