• १० मंसिर २०८१, सोमबार

नेपालको लक्ष्य उपाधि : प्रशिक्षक केसी

blog

खेलअघि पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रशिक्षक र कप्तान । तस्बिर : एन्फा

काठमाडौं, साउन ८ गते । नेपाली राष्ट्रिय युवा फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले नेपालले यू–२० साफ च्याम्पियनसिपको उपाधि जित्ने दावी गर्नुभएको छ । भारतको भुवनेश्वरमा सोमबारदेखि सुरु हुने च्याम्पियनसिप अघि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र नेपालले उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । 

‘करिव दुई महिनादेखि टोलीले राम्रो तयारी गरेको छ । यस टोलीबाट हामीले धेरै अपेक्षा गरेका छौं । कोरोना महामारीका कारण पछिल्लो दुई बर्षदेखि उमेर समूहका प्रतियोगिता भएको छैन । यसपटक खेला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको छ । टोलीमा राम्रा खेलाडी छन्, प्रतिद्वन्द्वीको विषयमा खासै जानकारी छैन । तरपनि हामी जित्न आएका हों,’ केसीले भन्नुभयो । 

माल्दिभ्ससँग खेल्नुअघि कप्तान आयुष घलानले प्रतियोगिताका लागि टोली तयार रहेको बताउनुभयो । ‘हामी लिग चरणका सबै खेलमा तीन अंकका लागि खेल्नेछौं । राम्रो तयारी गरेकाले उपाधि जित्न चाहन्छौं,’ घलानले भन्नुभयो ।

माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेकोले खेल्न कठिन हुने बताउनुभयो । उहाँले अधिकांश खेलाडीले माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेका कारण नतिजा आफ्नो पक्षमा आउने विश्वास गर्नुभयो । नेपालले पहिलो खेल सोमबार माल्दिभ्ससँग खेल्नेछ । यस खेल भुवनेश्वरको कालिंगा  रंगशालामा नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुनेछ ।

यसअघि यू–१९ र यू–१८ उमेर समूहमा प्रतिस्पर्धा हुँदै आएको यस प्रतियोगिता पहिलो पटक यू–२० उमेर समूहको आयोजना गरिएको हो । नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै, भारतसँग जुलाई ३१ र अन्तिम खेल बङ्गलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउन्ड रोबिन लिगका आधारमा खेलिने प्रतियोगिताको शीर्ष दुई टोलीबीच अगस्ट ५ तारिख फाइनल प्रतिस्पर्धा हुनेछ ।