• २४ कात्तिक २०८२, सोमबार

धवलागिरि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक २४ गते ।
धवलागिरि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आयोजना र ताकम माध्यमिक विद्यालयको व्यवस्थापनमा धवलागिरी गाउँपालिका ७ नम्बर वडा ताकममा छैंटौँ संस्करणको प्रतियोगिता आइतबारदेखि सुरु गरिएको हो ।

धवलागिरी गाउँपालिका, स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा सञ्चालित छैटौँ राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका १२ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । कुल २८ स्वर्णपदकका लागि एथ्लेटिक्स र भलिबल प्रतियोगितामा प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ ।

एथलेटिक्स बिधा तर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चार गुण एक सय र चार गुण चार सय मिटरको रिलेदौड ट्रयाक तर्फ र फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपजम्प, ज्याभलिन थ्रो, सटपुट हुने छ । प्रतियोगिताको उद्घाटनपूर्व सहभागी विद्यालयहरुबिच गरिएको मार्चपासमा धनजनता माध्यमिक विद्यालय मुना फलियागाउँ प्रथम भएको छ । प्रथम हुने विद्यालयलाई नगद १० हजार रुपियाँ प्रदान गरिएको छ ।

मङ्गलवारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ६० हजार, द्वितीय र तृतीयले क्रमशः नगद ४० हजार तथा ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।  

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले खेलकुद क्षेत्रमा कुनै जात, धर्म र राजनीति नहुने भएकाले यसबाट एकापसमा सहकार्य र एकताको भावना विकास हुने बताउनुभयो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पालिकामार्फत नयाँ खेलाडीहरु उत्पादन, खेलकुद क्षेत्रको विकास र वृद्धिसँगै प्रतिभा पहिचान गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले अनुशासनलाई विशेष ध्यान दिएर खेलाडी विद्यार्थीहरुले आफ्नो खेलको कला प्रदर्शन गर्नुपर्ने तथा प्रतियोगितामार्फत नयाँ प्रतिभाको उजागर गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले समाजमा खेलकुदमैत्री वातावरण निर्माण गर्नु, युवाहरुलाई खेलकुदमा आकर्षित गराउनु र जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने खेलाडीहरु उत्पादनमा राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताहरुले सहयोग पु¥याउने बताउनुभयो ।