• ३० वैशाख २०८१, आइतबार

सूर्य पनि घुम्दै छ

blog

पृथ्वीको परिधि करिब २५ हजार माइल छ । यसको सतहको क्षेत्रफल करिब २० करोड वर्गमाइल तथा तौल ६,५८८,०००,०००,०००,०००,०००,००० टन छ ।

सौर्यमण्डलको आकार कत्रो छ ? हाम्रो सौर्यमण्डल रहेको आकाशगङ्गा मिल्की वे आकारमा कति ठूलो छ ? मिल्की वेको केन्द्रमा के छ ?

यी प्रश्नको उत्तर सजिलै बुझ्न गाह्रो छ । वैज्ञानिकले अनुसन्धानबाट स्पष्ट पारेका छन्, हाम्रो आकाशगङ्गामा खर्बौं तारा छन् र यस्ता आकाशगङ्गा ब्रह्मान्डमा खर्बौंको सङ्ख्यामा छन्। अब अनुमान लगाउनुस् आकाशगङ्गा र ब्रह्मान्डको आकार कति ठूलो होला। 

वास्तवमा यस ब्रह्मान्डमा सबै पिण्ड कुनै एक बिन्दुलाई केन्द्र मानेर त्यसको वरिपरि घुमिरहेका छन् । हाम्रो सौर्यमण्डलमा सूर्य केन्द्रमा छ तथा त्यसको वरिपरि सबै ग्रह र अन्य पिन्ड घुमिरहेका छन्। कुरा यति मात्र होइन, हाम्रो सौर्यमण्डलमा सूर्य स्थिर रहे पनि सौर्यमण्डल चाहिँ स्थिर छैन। सौर्यमण्डल समेत आकाशगङ्गामा ठिक्कै घुमिरहेको छ, घुम्दै घुम्दै आकाशगङ्गाको केन्द्रतिर गइरहेको छ । 

वैज्ञानिकहरूले निकालेको हिसाबअनुसार सौर्यमण्डल आकाशगङ्गाको केन्द्र वरिपरि प्रति ९० सेकेन्ड २० हजार किलोमिटरको गतिमा चलायमान छ । यसर्थ सौर्यमण्डलमा भलै पृथ्वी र अन्य ग्रहले सूर्यको वरिपरि परिक्रमा गरिरहेका हुन्, सूर्य एकै ठाउँमा देखिएको होस् तर आकाशगङ्गामा सूर्य स्थिर छैन। सूर्यले आफ्नो परिवारका सबै सदस्यसहित प्रतिघण्टा आठ लाख किलोमिटरको गतिमा मिल्की वेको केन्द्र वरिपरि परिक्रमा गरिरहेको छ।  

–युवामञ्च