• २८ पुस २०८१, आइतबार

‘राजनीतिलाई देश र जनताको हितमा प्रयोग गर्नुपर्छ’

blog

काठमाडौँ, साउन ७ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाको विशिष्ट स्थान रहेको बताउनुभएको छ। 

शुक्रबार आयोजित बीपी  कोइराला राष्ट्रिय पुरस्कार, २०७८ वितरण समारोहमा बोल्नुहुँदै नेपाली कांग्रेसका सभापतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले बीपी कोइरालालाई नेपाली समाजले उच्च राजनीतिक चिन्तक र विश्लेषकका साथै  नेपाली भाषा–साहित्यका एक उत्कृष्ट स्रष्टाका रूपमा पनि चिन्ने गरेको बताउनुभयो । 

उहाँले विभिन्न उतार चढाव र सङ्घर्षले भरिएको नेपालको राजनीतिक विकास क्रम अध्येताहरूका लागि चाखलाग्दो मात्र नभई स्वयंमा एउटा गहकिलो अध्ययनको विषय पनि भएको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘हामीले हाम्रो राजनीतिक चिन्तन र संस्कृतिलाई समयको गतिसँगै थप परिष्कृत तथा समृद्ध बनाउँदै देश एवं जनताको अधिकतम हितमा प्रयोग गर्ने प्रणाली विकास गर्दै जानुपर्ने खाँचो छ।’’ 

प्रधानमन्त्री देउवाले बीपी कोइराला साहित्यिक विधातर्फ डा. विष्णुविभु घिमिरे र डा. धु्रवचन्द्र गौतमलाई तथा बीपी कोइराला राजनीतिक दर्शन विधातर्फ पुरुषोत्तम बस्नेत र बीपी सङ्ग्रहालयलाई प्रदान गर्नुभयो। 

बीपी कोइरालाले मुलुकको राजनीतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पु-याउनुभएको अतुलनीय योगदानको कदर गर्दै नेपाल सरकारले गत आर्थिक वर्ष २०७८/७९ देखि लागू हुने गरी बीपी कोइराला राष्ट्रिय पुरस्कारको स्थापना गरेको छ। 

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बीपी कोइराला जस्ता स्वच्छ राजनीतिक छवि भएका व्यक्तिको जीवनीबाट पछिल्लो पुस्ताले असल पाठ  सिक्नुपर्ने बताउनुभयो।