• २५ कात्तिक २०८२, मङ्गलबार

निर्वाचनका लागि समन्वय आवश्यक

blog

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमान सिंहको १११ औँ जन्मजयन्ती तथा जनआन्दोलन स्वर्णपदक वितरण समारोहमा सहभागी पूर्वराष्ट्रपति डा. रामवरण यादव तथा नेपाली काँग्रेसका नेता । तस्बिर : रासस

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक २५ गते । पूर्वराष्ट्रपति डा. रामवरण यादवले फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न सरकार, राजनीतिक दल र सरोकारवालाबिच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभएको छ । 

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमान सिंहको १११ औँ जन्मजयन्ती तथा जनआन्दोलन स्वर्णपदक वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता गर्नुभएकाले देशलाई निर्वाचनतर्फ लैजान सबै ऐक्यबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा उठाएका माग यथार्थपरक रहेको सम्बोधन गर्दै देशलाई निकास दिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “तत्कालीन सरकारले समयमै देशको परिस्थिति बोध गर्न नसक्दा र युवाका चाहनामा ध्यान नदिँदा अकल्पनीय घटना भयो । आगजनी भयो । यसबाट पाठ सिकेर भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गरेर निर्वाचनमा देशलाई लैजानु पर्छ ।”

पूर्वराष्ट्रपति डा. यादवले नेपाली कांग्रेसका संस्थापक नेता तथा लौहपुरुष गणेशमान सिंहको स्मरण गर्दै नेपाली जनताको स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय चेतनाको यात्रामा उहाँको योगदान सदैव अमर रहने बताउनुभयो ।  आज पूर्वराष्ट्रपति यादवले जहानियाँ राणा शासनविरुद्ध गणेशमान सिंहले जुन ढङ्गले आन्दोलनको अगुवाइ गर्नुभयो, त्यो नेपाली इतिहासमा सतिसालझैँ दृढ र अविचलित उदाहरण बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “गणेशमान सिंहले नेपाली समाजलाई स्वतन्त्रताको बाटो देखाउनुभयो । उहाँको योगदान केवल कांग्रेस पार्टीका लागि मात्रै होइन, सम्पूर्ण नेपाली जनताका लागि थियो । उहाँले देखाएको मार्ग अनुशरण गर्न सके मात्रै देश साँचो अर्थमा समृद्ध र लोकतान्त्रिक बन्न सक्छ ।” पूर्वराष्ट्रपति यादवले आफ्नो विद्यार्थी जीवनको पनि स्मरण गर्नुहुँदै आफू डाक्टर पढ्न भारत गएको बेला गणेशमान सिंहले कलकत्तामा रहेका लाखौँ नेपालीबिचमा डाक्टरका रूपमा सेवा गर्नुहोस् र लोकतन्त्रका विषयमा छलफल गर्नुहोस् भन्नेखालका विशेष सन्देश दिनुभएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “देशका लागि सिपयुक्त प्राविधिक जनशक्ति चाहिन्छ, राम्रोसँग डाक्टर पढेर नेपाल फर्कनुहोस् । उहाँका यी शब्दले मलाई मात्र होइन, हजारौँ युवालाई पनि देश सेवाको बाटोमा अघि बढ्ने प्रेरणा दिएको छ ।” २०४६ को जनआन्दोलनका कमान्डर सिंहको जन्म विक्रम संवत् १९७२ कात्तिक २४ गते भएको हो । २०५४ असोज २ गते उहाँको निधन भयो । कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका योद्धा एवं वरिष्ठ पत्रकार विष्णु निष्ठुरीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको थियो ।