• ८ जेठ २०८१, मङ्गलबार

लक्ष्यभन्दा कम राजस्व सङ्कलन

blog

 भैरहवा समाचारदाता

भैरहवा, साउन ७ गते । आव २०७८/७९ मा भैरहवा भन्सार कार्यालयले लक्ष्यभन्दा ९ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले सो कार्यालयलाई यस आर्थिक वर्षका लागि एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार रुपियाँको लक्ष्य दिएकामा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपियाँ मात्र राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ९० दशमलव ९४ प्रतिशत मात्रै हो । 

गत आर्थिक वर्ष लक्ष्य नभेटे पनि चालू आर्थिक वर्षका लागि भन्सार विभागले सो कार्यालयलाई एक खर्ब ५५ अर्ब रुपियाँको लक्ष्य दिएको छ । 

आव २०७७/७८ मा यस कार्यालयले लक्ष्यभन्दा १२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको थियो भने त्यसअघि लक्ष्य भेटेको थिएन । सो कार्यालयले आव २०७४/७५ मा ८६ प्रतिशत, २०७५/७६ मा ८८ प्रतिशत र २०७६/७७ मा ६६ प्रतिशत लक्ष्य भेटेको थियो । 

भैरहवा भन्सार कार्यालयले मङ्सिरसम्म लक्ष्यअनुरूप सफलता हासिल गरे पनि पुस ५ गतेदेखि लागू हुनेगरी नेपाल राष्ट्र बैङ्कले १८ वटा शीर्षकका विलासिताका वस्तुको आयातमा प्रतीतपत्र (एलसी) खोलेर शतप्रतिशत र दुईवटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि आयात प्रभावित भएको हो । “पुस महिनायता लक्ष्यअनुरूपको सफलता हासिल भएको छैन,” सो कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले भन्नुभयो । राष्ट्र बैङ्कको यो प्रावधानले १५ अर्ब रुपियाँजतिको आयात रोकिएको अनुमान छ ।  

व्यापार घाटा उच्च दरमा बढिरहेको अवस्थामा गत वैशाख दोस्रो सातादेखि सरकारले १० वस्तुको आयातमा लगाएको थियो । यसले पनि आयात प्रभावित भयो र यसले गर्दा भन्सार राजस्व सङ्कलन घटेको हो ।

आव २०७८/७९ मा बेलहिया नाकाबाट दुई खर्ब ९६ अर्ब ९७ करोड ४० लाख १९ हजार रुपियाँका मालवस्तु आयात भएको छ भने सात अर्ब ८८ करोड चार लाख ३३ रुपियाँका मालवस्तु निर्यात भएको छ । आयातको तुलनामा निर्यात न्यून भएकै कारण दुई अर्ब ८९ अर्ब नौ करोड ३५ लाख ८६ हजार रुपियाँले व्यापार घाटा भएको छ । यो दर विगतका वर्षहरू जस्तै हो । 

कार्यालयका अनुसार यस नाकाबाट भारतबाट आएका जिप, कार र भ्यानबाट २१ अर्ब ९३ करोड ६४ लाख ३३ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै मोटरसाइकलबाट १९ अर्ब ९१ करोड १५ लाख ९२ हजार, पिकअप तथा डेलिभरी भ्यानबाट पाँच अर्ब ७४ करोड ८८ लाख ६० हजार र एमएस विलेटबाट चार अर्ब ४० करोड पाँच लाख ९३ हजार रुपियाँ बराबरको आयात भएको छ ।  

यसैगरी पेट्रोलबाट चार अर्ब छ करोड २५ लाख १४ हजार, ग्लेज टाइलबाट तीन अर्ब ४९ करोड आठ लाख ९४ हजार, हाइस्पिड डिजेलबाट दुई अर्ब ७८ करोड १३ लाख १९ हजार, एलपी ग्यासबाट दुई अर्ब नौ करोड ४५ लाख ७७ हजार, मार्बल स्ल्याबबाट एक अर्ब ९६ करोड ४२ लाख आठ हजार राजस्व सङ्कलन भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाँबाट न्यून रूपमा निर्यात हुने गरेको छ । 

एक वर्षमा कार्यालयबाट एक अर्ब ९० करोड मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ । यस्तै एक अर्ब पाँच करोड रुपियाँको भटमासको तेल, ५५ करोडको पिना, ४७ करोडको खोटो रेजिन, ४४ करोडको खजुरको प्रशोधित तेल, ३९ करोडको लिड सिसा, ३५ करोडको चोकर भुस, २५ करोडको काँच तथा डन्डी ट्युब २१ करोडको चाउचाउ, पास्ता र २० करोडको स्टिलका भाँडाकँुडालगायतका वस्तु निर्यात भएको छ ।

कैलालीमा पनि उठेन लक्ष्यअनुसार राजस्व 

यसैगरी टीकापुर समाचारदाताका अनुसार कैलालीका भन्सार कार्यालयले भन्सार राजस्व परिचालनको लक्ष्य भेट्न सकेन । यस जिल्लामा रहेका कैलाली भन्सार र सत्ती भन्सार दुवैले आव २०७८÷७९ मा भन्सार विभागले दिएको लक्ष्य पूरा गर्न नसकेका हुन् । आव २०७८/७९ मा भन्सार विभागले ११ अर्ब ८२ करोड रुपियाँको राजस्व उठाउने लक्ष्य दिएको थियो । कैलाली भन्सारमा नौ अर्ब ५८ करोड रुपियाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको ८१ प्रतिशत मात्र हुन्छ ।

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत अम्बिका केसीले भन्नुभयो, “२०७८ चैतसम्म कोभिडको प्रभावले व्यापार कम भएको र सरकारबाट केही वस्तुको आयातमा रोक लगाएका कारण लक्ष्य नपुगेको हो ।” कैलालीकै अर्को सत्ती भन्सार कार्यालयमा लक्ष्यको झन्डै आधा मात्रै राजस्व सङ्कलन भएको छ । आव २०७८/७९ मा सत्ती भन्सारमा १० करोड ६७ लाख ९३ हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको भन्सार अधिकृत विमलकुमार साहले जानकारी दिनुभयो । 

विभागले सत्ती भन्सारलाई २० करोड ५८ लाख, ६१ हजार रुपियाँ राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकोे थियो तर लक्ष्यको ५२ प्रतिशत मात्र सङ्कलन भएको हो । सत्ती भन्सारले अघिल्लो वर्ष १५ करोड ८५ लाख रुपियाँ राजस्व उठाएको थियो । कैलालीका दुइटै भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, ट्याक्टर, चामल, गहु“, बिस्कुट, हार्डवेयर, कोइलालगायतको सामान आयात भएका छन् । 

आन्तरिक राजस्व पनि कम

आन्तरिक राजस्व कार्यालय धनगढीमा आव २०७८/७९ मा लक्ष्यको ६८.२८ प्रतिशत मात्रै राजस्व उठेको छ । लक्ष्य पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार भएकामा तीन अर्ब ९४ करोड ७३ लाख १० हजार मात्रै उठेको कर अधिकृत दुर्गाप्रसाद पौडेलले जानकारी दिनुभयो । जनशक्ति अभावले बजारमा जान नसकिएको र केही बक्यौता रहेकाले लक्ष्य पूरा हुन नसकेको पौडेलले बताउनुभयो ।

करदाता सेवा कार्यालय लम्कीले पनि लक्ष्य भेटाउन सकेन । उसको ६४ करोड ८९ लाख ७० हजार लक्ष्य रहेकामा ६४ करोड एक लाख २९ हजार (९८.६३ प्रतिशत) सङ्कलन भएको छ । करदाता सेवा कार्यालय लम्कीका निमित्त प्रमुख बिर्खबहादुर रावलका अनुसार दरबन्दीभन्दा आधा जनशक्ति भएका कारण बजार अनुगमन हुन नसकेको र कोभिडका कारण लक्ष्य पूरा नभएको बताउनुहुन्छ ।