• १२ पुस २०८१, शुक्रबार

कमलाखुँजमा अझै चरुवा प्रथा

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन ७ गते  । सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा ‘साहु–महाजन’का गाईगोरु चराउने चरुवा प्रथा अझै कायमै रहेको पाइएको छ ।

सरकारले बालीघरे, कमैया, हलियाजस्ता प्रथा अन्त्यको घोषणा गरेको वर्षौं भयो तर कमलाखुँज क्षेत्रमा अझै चरुवा प्रथा कायम रहनु दुःखद भएको स्थानीयवासीको भनाइ छ । उनीहरूलाई वैकल्पिक पेसाको टुङ्गो लगाउन आग्रह गरिए पनि नमानेको नगरपालिकाले जनाएको छ । 

दुधौली नगरपालिका–१ का पूर्ववडाध्यक्ष गोविन्द पहाडी चरुवा प्रथा मुसहर समुदायका व्यक्तिको रोजीरोटीजस्तै देखिएको बताउनुहुन्छ । उहाँले चरुवा प्रथा पहिलेको तुलनामा अहिले धेरै कम देखिए पनि पूर्ण रूपमा हटाउन भने नसकिएको बताउनुभयो ।

दुधौली नगरपालिकास्थित कमलाखुँज क्षेत्रका सिर्थौली, हर्षाही, हत्पते, टाँडी, दुधौलीलगायतका ठाउँमा गाईगोरुका धनीले थोरै धान दिएर मुसहर समुदायका व्यक्तिलाई वर्षभरि चरुवा राख्ने गरेको स्थानीयवासीले बताएका छन् । 

दुधौली नगरपालिका–४, डकाहाका ६९ वर्षीय रामपुकार सदाले ५५ वर्षदेखि अरूका गाईगोरु चराउँदै आएको बताउनुभयो । “वर्षको दुई पाथी धानका भरमा अर्काको गाईगोरु कमला नदीको किनारमा चराउन सुरु गरेको थिएँ,” उहाँले भन्नुभयो, “साहु–महाजनले अहिले १५ देखि १७ पाथी दिन थालेका छन् ।”   

बुवाले चरुवाकै काम गरेकाले आफू सानै उमेरदेखि यही पेसा रोजेको उहाँले सुनाउनुभयो । स्थानीयवासीका अनुसार त्यस क्षेत्रका सदा परिवारका नाममा एक टुक्रा जग्गाजमिन छैन । उनीहरू सार्वजनिक जग्गा (ऐलानी)मा टहरो हालेर बसेका छन् । स्थानीय दनुवार, क्षत्री, ब्राह्मण समुदायका गाईगोरु चराएर वर्षभरिमा १५ देखि १७ पाथी धान बालीका रूपमा उठाएर जीविकोपार्जन गर्छन् तर यसरी गुजारा चलाउन कठिन भएको रामपुकारको भनाइ छ ।

उहाँकी श्रीमती कुसनीले पनि विवाह गरेकै वर्षदेखि चरुवा बसेको बताउनुभयो । दुई वर्षअघि पक्षाघात भएर थलिएकी कुसनीले भन्नुभयो, “आफ्नै व्यवसाय गर्न जग्गा जमिन, पैसा, सीप केही छैन । बाँच्नकै लागि पनि परिवारले नै वर्षौंदेखि चरुवाको काम गरेका हौँ । काम नगरी कसैले खान दिँदैनन् ।” उनीहरूका ३२ वर्षका छोरा कमलले २५ वर्षदेखि गाईगोरु चराउँदै आउनुभएको छ । उहाँहरूले दुई टोलका झन्डै दुई सय गाईगोरु दैनिक चराउँदै आउनुभएको छ ।

गाईगोरुधनीले दिने धान खान मात्र ठिक्क हुने कमलको भनाइ छ । उहाँका अनुसार एउटा साहुको चारदेखि सातवटासम्म गाईगोरु हेर्नुपर्ने बाध्यता छ । स्थानीय गङ्गालाल सदा र बलराम सदा पनि चरुवा काम गर्नुहुन्छ । “केही वर्ष महाजनकै हलो जोत्ने काम गरेँ तर त्यसले खान–लाउन पुगेन,” गङ्गालालले भन्नुभयो, “दैनिक ९३ वटा गाईगोरु चराउँदै आएको छु ।” 

यसकै कमाइबाट सात जनाको परिवार पाल्दै आएको उहाँले सुनाउनुभयो । हर्षाही र हत्पते क्षेत्रमा पनि चरुवाले यस्तै काम गर्दै आएको स्थानीय बताउँछन् । उनीहरूको दैनिकी ज्याला–मजदुरी गरेर चल्ने भएकाले चरुवाको काम गर्दै आएको पाइएको दुधौली नगरपालिका–११ निवासी पूर्णचन्द्र दाहालको भनाइ छ ।