• १३ साउन २०८१, आइतबार

पचहत्तर लाखको अक्षय कोष स्थापना

blog

दोलखा समाचारदाता

चरीकोट, साउन ७ गते । दोलखाको भीमेश्वर नगरपालिका–२, ऐतिहासिक सहर दोलखामा रहेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले ७५ लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ ।

दिगो र भरपर्दो नित्य पूजा, गुठी सञ्चालनलगायतका कामका लागि यो अक्षय कोष स्थापना गरिएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।   उहाँका अनुसार अहिले सदरमुकामस्थित सेन्चुरी बैङ्कमा रहेको ५० लाख र कृषि विकास बैङ्कमा रहेको २५ लाख रुपियाँ अक्षय कोषमा राखिएको छ । बिस्तारै यसलाई वृद्धि गर्दै लाने ध्येय रहेको छ । अहिले पाई आएको ब्याज दर १०ः०३ भन्दा बढी दिने बैङ्क पाए यो कोष त्यसमा नै राख्ने समितिको निर्णय भएको छ । 

आर्थिक वर्ष २०७८÷७९ को भेटीमा ४२ लाख ९९ हजार २५७, बलिपूजामा एक लाख ८२ हजार, शौचालयबाट १५ हजार पाँच सय, सहयोगमा चार लाख ६१ हजार ६१० र रुद्री पूजाबाट एक लाख १५ हजार ७९२ र काली मन्दिर व्यवस्थापन समिति गाभिँदा प्राप्त २२ लाख गरी कुल ७२ लाख ७४ हजार ११९ रुपियाँ आम्दानी रहेको छ । कुल एक करोड १३ लाख ५७ हजार ७१४ रुपियाँ समितिको खातामा जम्मा रहेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गत दुई वर्षको निरन्तर रूपमा रहेको कोरोना महामारीले मन्दिर बन्द रहनाले करिब एक करोड रुपियाँ घाटा लागेको समितिको ठहर रहेको बताइन्छ ।