• १३ साउन २०८१, आइतबार

एकतीस करोड चालीस लाख बेरुजु

blog

बनेपा समाचारदाता  

बनेपा, साउन ७ गते । आर्थिक वर्ष २०७७/७८ मा काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ३१ करोड रुपियाँभन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा काभ्रेका १३ वटा स्थानीय तहमा ३१ करोड ४० लाख ७८ हजार रुपियाँ बेरुजु रहेको उल्लेख छ । 

प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकामा सबैभन्दा बढी रकम बेरुजु रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा महाभारत गाउँपालिकामा कुल बजेटको ४ दशमलव ६० प्रतिशत रकम बेरुजु रहेको थियो । 

गाउँपालिकाको ८५ करोड २७ लाख ११ हजार रुपियाँ लेखापरीक्षण भएकोमा तीन करोड ९२ लाख रुपियाँ बेरुजु देखिएको हो । यसैगरी नमोबुद्ध नगरपालिकामा लेखापरीक्षण भएको रकममध्ये २ दशमलव ३१ प्रतिशत अर्थात् दुई करोड ९३ लाख १७ हजार रुपियाँ, मण्डनदेउपुर नगरपालिकामा २ दशमलव ७१ प्रतिशत अर्थात् चार करोड ७८ लाख १९ हजार, तेमाल गाउँपालिकामा २ दशमलव ३९ प्रतिशत अर्थात् लेखापरीक्षण भएको बजेटमध्ये दुई करोड ५५ लाख ६९ हजार रुपियाँ बेरुजु देखिएको हो । 

प्रतिवेदनअनुसार धुलिखेल नगरपालिकामा लेखापरीक्षण भएको रकमको १ दशमलव ९३ प्रतिशत अर्थात् तीन करोड ३१ लाख ८७ हजार, पनौती नगरपालिकाको एक करोड ४९ लाख ९१ हजार (०.६८ प्रतिशत), पाँचखाल नगरपालिकामा एक करोड ५९ लाख ९३ हजार (०.९६ प्रतिशत) रकम बेरुजु देखिएको छ ।

यसैगरी बनेपा नगरपालिकामा तीन करोड ५१ लाख ३० हजार (१.५३ प्रतिशत), खानीखोला गाउँपालिकामा एक करोड ४५ लाख ४० हजार (१.९३ प्रतिशत), चौँरीदेउराली गाउँपालिकामा एक करोड १८ लाख ७१ हजार (१.०४ प्रतिशत), बेथानचोक गाउँपालिकामा एक करोड ७२ लाख ७३ हजार (१.८७ प्रतिशत), भुम्लु गाउँपालिकामा एक करोड ७१ लाख १५ हजार (१.४६ प्रतिशत) र रोसी गाउँपालिकामा एक करोड २४ लाख ७३ हजार (१.०२ प्रतिशत) रकम बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा धुलिखेल नगरपालिकाको एक अर्ब ७१ करोड ६१ लाख चार हजार, पनौती नगरपालिकाको दुई अर्ब १५ करोड ८८ लाख ९१ हजार, पाँचखालको एक अर्ब ६६ करोड सात लाख ५४ हजार, बनेपाको दुई अर्ब २९ करोड ७९ लाख १३ हजार रुपियाँको लेखापरीक्षण गरेको थियो । यस्तैगरी खानीखोला गाउँपालिकाको ७५ करोड ४५ लाख ९४ हजार, चौँरीदेउरालीको एक अर्ब १३ करोड ९४ लाख १७ हजार, तेमालको एक अर्ब छ करोड ८२ लाख २३ हजार, बेथाचोकको ९२ लाख १५ हजार ४८ हजार, भम्लुको एक अर्ब १७ करोड २८ लाख र रोसी गाउँपालिकाको एक अर्ब २२ करोड २५ लाख ३८ हजार रुपियाँको लेखापरीक्षण गरिएको थियो ।