• ३ असार २०८१, सोमबार

गाडी एसेम्बलिङमा आकर्षण

blog

काठमाडौँ, साउन ७ गते ।  सरकारले चालू आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । त्यस्ता उद्योग सञ्चालन गर्न भन्सार तथा अन्तःशुल्कमा छुट दिइएपछि ठूला व्यावसायिक घरानाको ध्यान सवारीसाधन एसेम्बलिङ उद्योगमा बढेको छ । 

गत आर्थिक वर्षको बजेटमा नै ‘एसेम्बलिङ’ उद्योग सञ्चालन गर्ने उद्योगलाई आवश्यक पर्ने ‘पार्टस्’ तथा आवश्यक उपकरण आयातमा भन्सार तथा अन्तःशुल्कमा छुटको घोषणा गरेको थियो । 

उद्योग विभागको तथ्याङ्कअनुसार पछिल्लो समय ‘एसेम्बलिङ’ गर्ने उद्योगको सङ्ख्यामा वृद्धि हुन थालेको हो । तथ्याङ्कअनुसार आव २०७८/७९ मा दुईपाङ्ग्रेदेखि चारपाङ्ग्रे सवारीसाधन उत्पादन गर्नेगरी छवटा उद्योग दर्ता भएका छन् । 

हाल नेपालमा दुई कम्पनीले मात्र दुईपाङ्ग्रे सवारीसाधन उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । तथ्याङ्कमा धेरै उद्योग दर्ता भए पनि हाल नेपालमा गोल्छा समूहको बजाज र शङ्कर समूहको टीभीएसले मात्र मोटरसाइकल उत्पादन गरिरहेका छन् । आव २०७८÷७९ मा विभागमा सवारीसाधन एसेम्बलिङका लागि सुजुकीका कार तथा मोटरसाइकल र तीनपाङ्ग्रे सवारीसाधन बनाउन सीजी अटोमोटिभ इन्डस्ट्रिज प्रालि, यामाहाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एमएडब्लू अटो प्रालि, विद्युतीय स्कुटर एसेम्बल गर्न ई–बोल्ट मोबिलिटी प्रालि, दुईपाङ्ग्रे सवारीसाधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स, दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन उत्पादन गर्नेगरी दुगड अटो क्लिनिक र दुईपाङ्ग्रेदेखि छपाङ्ग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता भएका हुन् ।  सुजुकीका कार तथा मोटरसाइकल र तीनपाङ्ग्रे सवारी एसेम्बल गर्न चौधरी समूहको सीजी होल्डिङले बाराको परवानीपुरमा एक अर्ब ३१ करोड ६९ लाख रुपियाँको लगानीमा उद्योग दर्ता गरेको छ । उक्त कम्पनीले वार्षिक १० हजार दुईपाङ्ग्रे, तीन हजार तीनपाङ्ग्रे र १० हजार चारपाङ्ग्रे सवारी उत्पादनको लक्ष्य राख्दै उद्योग दर्ता गरेको हो ।

यस्तै यमाहाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्न एमएडब्लू अटो प्रालिले गत असोजमा उद्योग विभागमा दर्ता भएको छ । एमएडब्लू इन्टरप्राइजेजले यमाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि एक अर्ब ५१ करोड ५० लाख रुपियाँभन्दा बढीको लगानी गरेको छ । मोरङमा स्थापना गरिएको उक्त उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार स्कुटर उत्पादन हुने जनाइएको छ ।

ई–बोल्ट मोबिलिटी प्रालि उद्योग विभागमा दर्ता भएको छ । ललितपुर जिल्लाको गोदावरीमा रहने उक्त उद्योगमा २४ करोड ३० लाख रुपियाँ लगानी गर्ने स्वीकृत भएको छ । ई–बोल्ट मोबिलिटीले वार्षिक १५ हजारवटा विद्युतीय स्कुटर उत्पादन गर्ने क्षमता रहेको जनाएकोे छ । 

यसैगरी दुईपाङ्ग्रे सवारीसाधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स प्रालि दर्ता भएको छ । विशाल समूहको लगानीमा मोटरसाइकल तथा स्कुटर र तीनपाङ्ग्रे सवारी उत्पादन गर्ने उक्त उद्योग दर्ता भएकोे हो ।

वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर र पाँच हजार तीनपाङ्ग्रे अटोरिक्सा उत्पादन गर्नेगरी ४६ करोड ४५ लाख ९२ हजार रुपियाँकोे लगानीमा पर्साको विन्ध्यवासिनी गाउँपालिका–१ मा स्थापना हुनेगरी उक्त उद्योग दर्ता भएको हो ।

एलपी ग्यास तथा पेट्रोलियम व्यवसायीका रूपमा चिनिएका व्यवसायी शिवप्रसाद घिमिरेले दुईपाङ्ग्रेदेखि छपाङ्ग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्न एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता भएका छन् ।

भन्सार तथा अन्तःशुल्कमा छुट दिइएपछि ठूला व्यावसायिक घरानाको ध्यान सवारीसाधन एसेम्बलिङ उद्योगमा बढेको हो । 

तीन अर्ब रुपियाँभन्दा बढी लगानीमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–११ मा स्थापना हुने उक्त उद्योगले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपाङ्ग्रे १२ सय थान, विद्युतीय कार–जिप ६०० र ई–बस १२० युनिट उत्पादन गर्नेछ ।

इन्टरनल कम्बसन इन्जिन (आईसीई) मोटरसाइकल तथा स्कुटर १० हजार ५०० युनिट, आईसीई तीनपाङ्ग्रे रिक्सा १५ सय युनिट, आईसीई फोर ह्विलर्स (कार, एसयूभी, जिप) ६०० युनिट र आईसीई सिक्स ह्विलर्स गाडी ७५० युनिट उत्पादन गर्नेछ ।

दुगड अटो क्लिनिक प्रालिले दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन उत्पादन गर्नेगरी उद्योग दर्ता गरेको छ । ३० करोड रुपियाँको लगानी रहने उक्त उद्योगले वार्षिक २४ हजार दुईपाङ्ग्रे र चार हजार तीनपाङ्ग्रे सवारी उत्पादन गर्नेगरी उद्योग दर्ता भएको हो ।

बजेटमार्फत नै सरकारले सवारी एसेम्बलिङ उद्योगमा छुटको घोषणा गरेपछि नयाँ उद्योग दर्ताको सङ्ख्यामा वृद्धि भएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँले विभिन्न ठूला व्यावसायिक घरानाले नेपालमा नै सवारी एसेम्बलिङ गर्नेगरी उद्योग दर्ता गर्न थालेको बताउनुभयो ।

सरकारको अस्थिर नीतिका कारण नेपालमा नै एसेम्बल उद्योग दर्ता गर्न व्यवसायी इच्छुक भएर उद्योग दर्ता गरे तापनि तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नभएको हो ।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धुव्रबहादुर थापा सरकारले छुटको घोषणा गरेसँगै व्यवसायीको आकर्षण थपिएको बताउनुभयो । उहाँका अनुसार सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न नेपालमा नै सवारी उत्पादन गर्ने उद्योगलाई छुट दिँदा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

उहाँले सरकारको अस्थिर नीतिका कारण नेपालमा नै एसेम्बल उद्योग दर्ता गर्न व्यवसायी इच्छुक भएर उद्योग दर्ता गरे तापनि तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नभएको बताउनुभयो ।

“नेपालमा नै सवारी एसेम्बलिङ उद्योग दर्ता गर्न ठूलो रकम आवश्यक पर्छ, सरकारको अस्थिर नीतिका कारण व्यवसायी उत्साहित छैनन् । दुईपाङ्ग्रेभन्दा चारपाङ्ग्रेमा धेरै पुँजी खर्च हुन्छ, सरकारले नीतिगत रूपमा नै व्यवस्था नगर्दासम्म ठूला लगानीकर्ता आउने अवस्था देखिएको छैन,” उहाँले भन्नुभयो ।