• ७ जेठ २०८१, सोमबार

पर्यटक आवागमन बढेसँगै ब्यूँतिदैं खुम्बु पर्यटन क्षेत्र

blog

सन्तोष राउत

सोलुखुम्बु, साउन १ गते । कोरोना संक्रमण कम हुँदैजाँदा यस वर्ष सोलुखुम्बुको खुम्बुक्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ । दुई वर्षसम्म करिब शुन्यको अवस्थामा रहेको खुम्बुको पर्यटन सगरमाथा लगायतका हिमाल आरोहणको यो ‘स्प्रिङ’ सिजनमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ८३ प्रतिशतभन्दा बढीले पर्यटकको आगमनमा बृद्धि भएको छ । 

आर्थिक बर्ष २०७७–७८ को तुलनामा २०७८–७९ मा ८३.६२ प्रतिशतले पर्यटक आवागमन बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । निकुञ्जको तथ्याङ्कअनुसार आ.ब. २०७७–७८ मा चार हजार ३३५ जना पर्यटकले भ्रमण गरेको खुम्बु क्षेत्रमा २०७८–७९ मा २६ हजार ४७४ जनाले भ्रमण गरेका छन् । जुन संख्यात्मक हिसाबले २२ हजार १३९ जनाले बढी हो ।

जसमा २१ हजार १९८ जना विदेशी र पाँच हजार २७६ जना नेपाली रहेको निकुञ्ज कार्यालयका सुचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो । खुम्बु क्षेत्रमा बर्षको दुई समय असोजदेखि कात्तिक र फागुनदेखि बैशाखसम्म मुख्य पर्यटकीय सिजन मानिन्छ ।

खुम्बु क्षेत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कु लगायतका हिमचुचुरा छन् । सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदासूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।