• १६ चैत २०८०, शुक्रबार

वैशाख २१ पछि पहिलो पटक कोरोनाले एक जनाको मृत्यु : २४ घण्टामा थपिए १३५ सङ्क्रमित

blog

काठमाडौं, साउन १ गते। नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङक्रमणदर बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार लामो समयपछि २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार वैशाख २१ गतेपछि शनिबार एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। 

आइतबार २४ घण्टामा १३५ जनामा कोरोना सङक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।  मन्त्रालयका अनुसार तीन हजार ४१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा १३५ जनामा कोरोना पुष्टि भएको हो। एक हजार ४७३ जनाको आरटी पीसीआर गर्दा  ११४ जनामा र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएकोे मन्त्रालयले जनाएको छ। 

आइतबार परीक्षण गरिएका मध्ये ४.४३ प्रतिशतमा कोरोना पुष्टि भएको छ। सङ्क्रमितमध्ये सबैभन्दा बढी ४३ जना काठमाडौंमा छन्। त्यसैगरी भक्तपुरमा दुई र ललितपुरमा नौ जना सङ्क्रमित छन्। २४ घण्टामा ५९ जना सङ्क्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार २४ घण्टामा ३२ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४३९ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। शून्य सङ्क्रमित भएका जिल्ला १० छन्। काठमाडौंमा ७२, भक्तपुरमा २८, ललितपुरमा ९२ जना सक्रिय सङ्क्रमित  छन्। 

सक्रिय सङ्क्रमितमध्ये एक हजार ३७० जना होम आइसोलेसनमा, ६९ जना अस्पतालमा उपचाररत छन्। अस्पतालमा उपचाररत बिरामीमध्ये १८ जना आईसीयू र एक जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।