• ९ जेठ २०८१, बुधबार

चोभार सुक्खा बन्दरगाहबाट निर्यात सुरु

blog

काठमाडौंँ, असार २९ गते । काठमाडौंँको चोभारमा रहेको चोभार सुक्खा बन्दरगाह (ड्राई पोर्ट) बाट पहिलो पटक स्वदेशी वस्तुको निर्यात सुरु भएको छ । सञ्चालनमा आएको तीन महिनापछि मङ्गलबारदेखि यस बन्दरगाहबाट नेपालमा उत्पादन भएका सामान निर्यात सुरु भएको हो । गत चैत २२ देखि  बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएको थियो । यसबीचमा बन्दगाहमा सामान आयात भए पनि निर्यात भने हुन सकेको थिएन । अन्य बन्दरगाहबाट सामान निर्यात भए पनि यसबाट पहिलो पटक भएको हो । 

बन्दरगाहबाट एक ट्रक ऊन फेल्टका सामान डेनमार्क निर्यात गरिएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मङ्गलबारदेखि काठमौँबाट निर्यात सुरु भएको जानकारी दिनुुभयो । काठमाडौँबाट उनी फेल्टका एक कन्टेनर सामान निर्यात भएको छ, उहाँले भन्नुभयो “निर्यात खुला भएकाले यसले सकारात्मक सन्देश दिने हुँदा आगामी दिनमा नियमित रूपमा हुने  देखिन्छ ।” पाँच हजार जोर उनीका जुत्ता निर्यात भएको समितिले जनाएको छ । 

“चोभारबाट भन्सार पास गरेर  सिधै सामान डेनमार्क गएको छ, यसले व्यापारलाई सहजीकरण  गर्छ,” गजुुरेलले भन्नुुभयो । बन्दरगाहमा पूर्वाधार राम्रो भएकाले आयात निर्यात गर्न सहज हुने उहाँको भनाइ छ । सञ्चालनमा आएको बन्दरगाहमा अहिलेसम्म सात करोड ३९ लाख रुपियाँ बराबरको १६ कन्टेनर सामान बाहिरी मुलुकबाट आयात भएका छन् । आयात भएका सामान उपत्यकामै खपत हुन्छ । काठमाडौंँमा हस्तकलाका सामान धेरै उत्पादन हुने भएकाले निर्यात पनि तिनै सामान हुने गजुरेलले जानकारी दिनुभयो । चोभार बन्दरगाहबाट सबै भन्सार चेकचाँज भएर जाने हुँदा बीचमा नरोकिई सम्बन्धित ठाउँमा सामान निर्यात हुने गर्छ । 

छिमेकी भारत हुँदै तेस्रो मुलुकबाट आएका सामान वीरगञ्ज भन्सारमा चेकजाँच नभई सिधै चोभारमा आउन सक्ने भएकाले सामान ढुवानीमा लाग्ने समय र लागत बचत हुने गजुरेलको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा हुने कुल आयात निर्यात व्यापारको करिब ५० प्रतिशत काठमाडौँबाटै हुने भएकाले बन्दरगाह उपलब्धिमूलक भएकोे जानकारी दिनुुभयो । बन्दरगाहबाट पस्मिना, हस्तकलाका सामान, कार्पेट, जडीबुटीलगायतको सामानको ब्रान्डिङ गरेर निर्यात गर्न सकिने उहाँले जानकारी दिनुुभयो । चोभार सुक्खा बन्दरगाहले आयात निर्यात व्यापारमा सहजीकरण गर्ने सम्भावना रहे पनि अझै केही समस्या रहेको निजी क्षेत्रले बताएका छन् । वीरगञ्जदेखि काठमाडौँ कन्टेनर ल्याउँदा बीच बाटोमा कन्टेनरमा समस्या भए बीमाको सुविधा नरहेको र कन्टेनर दुर्घटना भए कसले जिम्मा लिने भन्ने समस्या रहेको व्यवसायीको भनाइ छ ।

समितिका अनुसार बन्दरगाहमा पाँच सय कन्टेनर तथा पाँच सय ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भन्सार, क्वारेन्टाइन, सुरक्षा र अपरेटर कम्पनीका कार्यालय छन् । 

बैङ्कलगायत अन्य संरचनाका लागि तीन भवन, तीन गोदाम, तीन एप्राइजल सेड, तीन धर्मकाँटा, विद्युतीय सबस्टेसन, बाउन्ड्री लाइटलगायत पूर्वाधार निर्माण गरिएको छ । यो बन्दरगाहभित्र भन्सार जाँचपास कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदाम घर, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा रहेका छन् । 

विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा इन्टरमोडल यातायात विकास समितिले तीन वर्ष लगाएर बन्दरगाह निर्माण गरेको थियो । बन्दरगाहमा ३५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्रलगायतका सुविधा र कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली राखिएको छ ।