• २७ असोज २०८२, सोमबार

चिनियाँ वैज्ञानिकद्वारा आवाज चिन्न सक्ने प्रविधियुक्त कपडाको विकास

blog

नान्जिङ, असोज २७ गते । अनुसन्धानकर्ताले आवाज पहिचान गर्न सक्ने प्रविधियुक्त विशेष कपडा विकास गरेका छन्, जसले कृत्रिम बौद्धिकता (एआई) सँग जोडिएर दैनिक जीवनमा स्मार्ट सुविधा पुर्‍याउने नयाँ सम्भावना देखाएको छ ।

यो नवीन कपडाले मानिस बोल्दा लुगामा उत्पन्न हुने स्थैतिक विद्युतीय आवेशलाई समातेर प्रवर्धन गर्छ, जसले एआई प्रणालीलाई (भ्वाइस कमाण्ड) चिन्न सहज बनाउँछ । सुछौ विश्वविद्यालयका अनुसन्धानकर्ताको नेतृत्वमा विकास गरिएको उक्त कपडालाई ‘ए-टेक्सटाइल’ नाम दिइएको छ ।

परम्परागत कडा र भारी आवाज उपकरणभन्दा फरक, यो कपडा नरम, लचिलो, हल्का र धुन योग्य छ । यस कपडामा ३-डी टिन-सल्फाइड न्यानोफ्लावर, सिलिकन रबर र ग्राफाइट-जस्तै कार्बनयुक्त पदार्थ प्रयोग गरी बहुपरत संरचना तयार पारेका छन्, जसले आवेश सङ्कलन गर्ने क्षमतालाई अझ प्रभावकारी बनाउँछ ।

परीक्षण अनुसार, उक्त कपडाले ९७.५ प्रतिशतसम्मको आवाज पहिचान सफलता हासिल गरेको छ । यसमार्फत आवाज आदेश प्रयोग गरी घरका विद्युतीय उपकरण टाढैबाट नियन्त्रण गर्न सकिन्छ । यस कपडाबाट स्मार्टफोन एप पनि सञ्चालन गर्न सकिन्छ । अनुसन्धानले लुगामार्फतै एआईसँग अन्तरक्रिया गर्ने यो प्रविधि भविष्यमा स्मार्ट कपडा र धेरै उपयोगी मोबाइल सहायकको रूपमा प्रयोगमा ल्याउन सकिने देखाएको छ । रासस/सिन्ह्वा