शङ्कर केसी
शारदा (सल्यान), असोज २७ गते । पहाडको काख, स्वच्छ वातावरण र प्रकृतिको एउटा सुन्दर उपहारको रूपमा अवस्थित सल्यान कपुरकोटको धार्मिक एवं ऐतिहासिक सातामूल क्षेत्र ।
वडा-६, सिन्वाङस्थित सात वटा पानीको मूल रहेको यस क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टीले महत्त्वपूर्ण मानिन्छ । तर यसको उचित प्रचारप्रसार हुन सकिरहेको छैन । सातमूल वराह क्षेत्रलाइ विकास गर्ने उद्देश्य अनुरूप विगत देखि नै स्थानीयहरू लागेका थिए । पछिल्लो समय यसको संरक्षण, विकासका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले पनि चासो देखाएका छन् ।
सातामूल वराह क्षेत्रलाई स्थानीयहरुले आफ्नो धार्मिक विश्वासको रूपमा लिन्छन् । धेरैजना मानिसहरू यहाँ सन्तान प्राप्तिका लागि आउने गरेको र यहाँ दर्शन, पूजा अर्चना गर्नाले मनको इच्छा पूरा हुने जनविश्वास रहेको वडा ६ का वडाध्यक्ष श्यामकृष्ण बाेहरा बताउनुहुन्छ । विगतमा बुढापाकाहरूले विभिन्न ठाउँमा विनाशकारी महामारी तथा प्रकोप आउँदा सातामूलमा पूजाआजा गर्दा सङ्कट टर्ने गरेको छ ।
वडा कार्यालयका अनुसार पछिल्लो समय यहाँ दर्शनार्थीहरू आउने क्रम बढ्दै गएको छ । जिल्लाका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्ला रोल्पा, दाङ, प्युठानबाट समेत मानिसहरू आउने गरेको भएता पनि अझै सातामूलको प्रचारप्रसार हुन नसकेको वडाध्यक्ष बाेहराको भनाइ छ ।
सातामूल क्षेत्रको विकासका लागि पछिल्लो पटक मात्रै करिब साढे एक करोड लगानी भइसकेको छ । गाउँपालिकाबाट पहिले पाँच लाख, त्यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाको पहलमा ३० लाख र सङ्घीय सरकारबाट एक करोड रुपियाँ विनियोजन भएको थियो । शिव मन्दिर, वराहाथान मन्दिर, विवाह तथा पूजा मण्डप, मुख्य पूजा स्थान, स्नान गर्ने ठाउँ र स्नान कुण्ड, शिवको मूर्ति, देवीको मुर्ती, साँढेको मूर्ति, कृष्ण मूर्ति, शिवलिङ्ग, वराहको मूर्ति लगायतका धार्मिक संरचनाहरू निर्माण भएका छन् । अन्य संरचनाहरूमा सातामूल क्षेत्रको घेरबार तथा पर्खाल, दुई ठाउँमा गेट, खेलमैदान, शाैचालय, बालबालिका खेल्ने संरचना, बस्ने बेन्चहरू पनि बनाइएका छन् ।
सातामूल वराह क्षेत्रको थप विकासका लागि विभिन्न व्यक्तिले आफ्नो खुसीको क्षणमा दान सहयोग समेत गर्ने गरेको छन् । सहयोग वापत गत वैशाखयता दुई लाख पचास हजार रुपियाँ जम्मा भइसकेको व्यवस्थापन समितिले जनाएको छ । समितिका उपाध्यक्ष चन्द्रमान कामीका अनुसार अब पर्यटन आकर्षणका लागि विद्युतीय चर्खे पिङ बनाउने प्रक्रियामा रहेको छ ।
राप्ती राजमार्गकोस्थित त्रिवेणी गाउँपालिकाको टुनीबोटबाट सातामूलसम्म पुग्नका आठ किलोमिटर मात्रै रहेको छ भने कपुरकोटको सोलाबाङबाट १३ किलोमिटर रहेको छ । सडकको अवस्था कच्ची भएतापनि गाडी सहजै रूपमा पुग्नसक्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ ।
सातामूल क्षेत्र पूजाआजा गर्ने धार्मिक स्थल मात्र नभई बर माग्ने, प्रकृतिको आनन्द लिने, रमाउने र वनभोज गर्ने आकर्षक गन्तव्यका रूपमा पनि परिचित बन्दै गएको छ । यहाँ आउने भक्तजन र पर्यटकहरूले शान्त र स्वच्छ वातावरणमा केही समय प्रकृतिसँग खेल्दै आत्मिक सन्तुष्टि अनुभव गर्न सक्छन् । यदि यो स्थललाई अझ व्यवस्थित र पूर्वाधारयुक्त बनाउन सकियो भने सातामूल पर्यटनको प्रमुख केन्द्रका रूपमा विकसित हुने प्रबल सम्भावना रहेको छ ।