गोरखापत्र अनलाइन
इटहरी, असोज २७ गते । पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लामा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारहरूलाई लक्षित गर्दै “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सोमबारदेखि पूर्वी पृतना मुख्यालय, इटहरीमा सुरु भएको छ।
कार्यक्रममा पूर्वी पृतनाको क्षेत्रमा कार्यरत २३ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेपाली सेनाको गतिविधि, जिम्मेवारी र राष्ट्रिय सुरक्षामा सेनाको भूमिकाबारे सञ्चारकर्मीहरूलाई सुसूचित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममार्फत सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी, भूमिका र मुख्य गतिविधिहरूसम्बन्धी जानकारीमूलक प्रस्तुतीकरण प्रदान गरिने छ। साथै विपद् प्रतिकार्य र समसामयिक विषयहरूमा अन्तर्क्रिया कार्यक्रम समेत आयोजना गरिने पूर्वी पृतनाले जनाएको छ।
कार्यक्रमको उद्देश्य सञ्चारकर्मीहरूमा राष्ट्रिय सुरक्षा, सेनाको कार्यक्षेत्र र विपद् व्यवस्थापनमा सेनाको योगदानबारे थप बुझाइ अभिवृद्धि गर्ने रहेको छ।