काठमाडौं, असार २७ गते । काठमाडौं महानगरपालिकाले भृकुटी मण्डप आफ्नो क्षेत्र अधिकारभित्र नपर्ने भनिरहेका बेला समाज कल्याण परिसदले पनि भृकुटी मण्डपबाट फुटपाथ व्यापारी फिर्ता लैजान महानगरपालिकालाई आग्रह गरेको छ ।
भृकुटी मण्डपको जग्गा समाज कल्याण परिसद अन्तर्गत रहेको परिसदका प्रवक्ता तथा सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले बताउनुभयो । “महानगरले २०४९ सालमा व्यवस्थित गर्न भनेर तीन महिनाका लागि फुटपाथ व्यापारीलाई भृकुटी मण्डपमा राखेको हो, तर अहिलेसम्म उठाएको छैन, हामी त भन्छौँ, महानगरले चाँडै आफ्नो व्यापारी फिर्ता लैजाओस्” उहाँले भन्नुभयो ।
भट्टराईका अनुसार भृकुटी मण्डपभित्र रहेको व्यापार व्यवसाय फुटपाथमा पर्दैन । “गेटभित्र छिरेपछि त्यो फुटपाथ होइन, प्रदर्शनीस्थल हो” उहाँले भन्नुभयो, “यो करको दयराभित्र छ ।” सरकारले एउटा मापदण्डका आधारमा आयआर्जन गर्नलाई दिएको हो । यो व्यवस्थित बजार हो । व्यापारीहरुले निरन्तर सरसफाइ गर्नेदेखि रुपियाँ तिर्ने गरेको भट्टराईको भनाइ छ ।
काठमाडौं महानगर पूर्णरुपमा फुटपाथ मुक्त पार्ने नीतिअनुसार महानगरपालिकाले काम गरिरहेको छ । तर फुटपाथको मुख्य व्यापारिक केन्द्र मानेको भृकुटी मण्डप भने आफ्नो क्षेत्रभित्र नपर्ने काठमाडौं महानगरपालिकाका प्रवक्ता बसन्त आचार्यले बताउनुभयो ।
उहाँका अनुसार पहिले पनि धेरै मौलाएको फुटपाथ व्यापारलाई महानगरले व्यवस्थित गर्न त्यहाँ राखेको हो । तर अहिले त्यो पूर्णरुपमा समाज कल्याण परिसद् अन्तर्गत रहेको छ ।
त्यतिबेला महानगरले तीन महिनाका लागि राखेको हो, आजसम्म त्यही छ, उहाँले भन्नुभयो, भृकुटी मण्डपलाई हटाउनेबारे महानगरले केही सोचेको छैन ।
सरकारले २०७४ सालमा राजधानीको चार कुनामा स्मार्ट सिटी निर्माण गर्ने निर्णय गरेको थियो । त्यसबेला मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको चारवटै कुनामा स्मार्ट शहर विस्तार गर्ने निर्णय गरेको प्रवक्ता आचार्यले बताउनुभयो ।
उहाँका अनुसार शहरी विकास मन्त्रालयले सार्वजनिक क्षेत्रबाट एकसय अर्ब र निजी क्षेत्रबाट चारसय अर्ब लगानी जुटाएर स्मार्ट सिटी बनाउने प्रस्ताव अघि बढाएको थियो । सरकारको निकै महत्वकांक्षी कामका रुपमा रहेको यस आयोजना आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य मन्त्रालयल लिएको थियो ।
स्थानीय व्यापारीका अनुसार पाँच वर्षमा शहर नै तयार पार्नेगरि काठमाडांै उपत्यका विकास प्राधिकरणले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारेको थियो । तर त्यो समय बित्यो । स्मार्ट शहरको कल्पना तुहियो । ती मध्येको सबैभन्दा महत्वपूर्ण क्षेत्र काठमाडौं महानगरपालिका थियो ।
काठमाडौं परिवर्तन गर्न त्यति सहज नरहेको र यहाँ पूरानै समस्याहरुको थुप्रो रहेको महानगरका प्रवक्ता आचार्यको भनाइ छ । ती मध्येको एउटा गम्भीर समस्या फुटपाथ व्यापार व्यवसाय रहेकाले यसको जरैदेखि निदान गर्नेगरी महानगर लागेको उहाँले बताउनुभयो ।
यता, काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने अभियानको स्वागत गर्दै खुलेर सहयोग गर्ने जनताको आयोग महाअभियानकी संयोजक तारा बरालले बताउनुभयो ।
उहाँका अनुसार आफूहरुले भृकुटी मण्डप पनि व्यवस्थित गर्नुपर्ने भन्दै गत बुधबार गृह मन्त्रालय, शहरी विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेको जानकारी दिनुभयो ।
“देशका जनता बेरोजगार भए भनेर सडकमा ल्याएर छोड्ने होइन, व्यवस्थित गर्ने हो,” उहाँले भन्नुभयो । यसलाई व्यवस्थि गर्न काठमाडौंमै उपाय आफूले पनि नदेखेको उहाँको भनाइ छ ।
यसका लागि खुल्ला ठाउँ चाहिने भन्दै उहाँले थप्नुभयो, “धेरै टाढा जानै पर्दैन, भारतकै महाराष्ट्र, दार्जिलिङ, गोवा, पुणेलगायतका शहर अवलोकन गरे पुग्छ, त्यहाँ बजारका लागि छुट्टै ठाउँ छुट्याएर बाटो निकालिएको छ, हामी नेपाली त्यहाँ पुग्दा फुटपाथजस्तो देख्छौँ त्यो खासमा पसलका लागि बनाइएको हो ।”
संयोजक बरालका अनुसार व्यवस्थित गर्न पहिले त खुल्ला जमिन हुनुपर्छ । सरकारी जमिन पनि केहीले बेचेर खाएको उहाँले आरोप लगाउनुभयो ।
भृकुटी मण्डपमा स्थानीय उत्पादनको बिक्रि नभएकाले त्यो विदेशी समानको व्यापार गर्ने ठाउँ बनेको बरालले बताउनुभयो । यो जमिन नेपालकी छोरी भृकुटीको नाममा छ, कसैले दावी गर्न पाउँदैन, उहाँले भन्नुभयो, “यो विभुतिको नाममा भएकाले महानगरभित्रको अधिकारभित्र हुन्छ । तर अहिले समाज कल्याण परिसदले दावी गरिहेको छ ।”
यो जनताको जग्गा हो । यसलाई राम्रो पर्यटकीय स्थल, पार्क बनाउनुपर्छ । “माथिबाट हेर्दा लथालिङ्ग फोहोरको थुप्रो मात्रै देखिने र देशलाई कुनै फाइदा नदिने हुँदा भृकुटी मण्डप नै उठाउनुपर्ने आवश्यक छ,” उहाँले भन्नुभयो, “समाज कल्याण परिसदले कुनै पनि हालतमा दावी गर्न पाउँदैन ।”
भृकुटी मण्डपको थुप्रै बेफाइदाहरु रहेको र जनताको जिउधनको रक्षा पनि गर्न नसकेकाले हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “फुटपाथ व्यापारले सडक दुर्घटना बढाएको छ । कर छली भएको छ । अधिक मात्रामा नेपाली मुद्रा विदेशिएको छ । ट्राफिक प्रहरीलाई कठिनाइ र स्थानीय उत्पादकलाई उपभोक्ता बनाइएको छ” बरालले थप्नुभयो, “स्थानीय उत्पादन शुन्य भएको र चोरी, डकैती, हत्या हिंसाको घटना बढेको छ, व्यापारिक अन्तर्राष्ट्रिय ऋण पनि बढेको छ ।
भृकुटी मण्डपमा विगत २० वर्षदेखि व्यापार गर्दै आउनुभएकी एक व्यापारीका अनुसार सेवा सुविधा केही नभए पनि भाडा भने छोइ नसक्नु छ । “म शुरुदेखि यहीनिर बसेर व्यापार गर्दैछु मेरो पैसा लागेन, अहिले आउनेले १८ देखि २० लाखसम्म रुपियाँ तिरेर ठाउँ किनेर व्यापार गर्छन्,” उहाँले भन्नुभयो, “व्यापार त हुन्छ तर खतरा छ, यो तहरा बनाउन प्लास्टीक, काठ र बाँसबाहेक केही प्रयोगमा छैन, पानी परेकाबेला समस्या छ, कुनै कारणवश आगो लाग्यो भने क्षतिको कल्पना गर्न सकिदैन ।”