• १३ साउन २०८१, आइतबार

‘कृषि उत्पादनलाई बढावा दिने योजना छ’

blog

चितवन, असार २७ गते । चितवन राष्ट्रिय निकुञ्ज र सोमेश्वर पहाडले घेरिएको माडी नगरपालिकाले अलग्गै पहिचान बोकेको छ । चितवनको सातवटा पालिकामध्ये माडी विकास र जिल्लाको पहुँचका हिसाबले पछाडि पारिएको आवाज उठ्दै आएको छ । जिल्लाको दक्षिण भारतसँग सीमा जोडिएको माडी नगरपालिकामा निकुञ्जको बाटो भएर जानु पर्दछ । नगरप्रमुख तारा कुमारी काजी महतो कृषि कर्म गर्नेहरूको सङ्ख्या धेरै रहेकाले नगरपालिकाले कृषिलाई नै प्राथमिकता दिएर योजना अगाडि बढाएको बताउनुहुन्छ । यसअघि उपप्रमुख रहनुभएकी उहाँले गोरखापत्रसँग भन्नुभयो, “यहाँको भूमि उर्वर छ त्यसैले कृषि उत्पादनका कार्यक्रमलाई हामीले प्राथमिकता दिएका छौँ । परम्परावादीभन्दा माथि उठेर व्यावसायिक खेती गर्नका लागि कार्यक्रम ल्याएका छौँ ।”  

नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित महतोले भन्नुभयो, “आउँदो आर्थिक वर्षमा हामीले आन्तरिक आयबाट मात्रै पाँच करोड रुपियाँ कृषि क्षेत्रको विकासलाई बजेट विनियोजन गरेका छौँ ।” कृषिमा आधुनिकीकरण, अर्गानिक खेती गर्न प्रोत्साहन गर्ने, सामूहिक खेती, चक्लाबन्दी खेती, कृषिमा आधुनिक औजार खरिदमा अनुदान, फलफूल खेती, भूमिगत सिँचाइ, सिँचाइलाई व्यवस्थित पार्नेलगायतको कार्यक्रम पालिकाले लिएको प्रमुख महतोले जानकारी दिनुभयो । “माछापालनका लागि देशैभरि परिचित गोपालनगर छ । योसँगै यहाँ हामीले पाँच वर्ष अगाडिदेखि नै सामूहिक खेतीको अभ्यास गरेका छौँ, त्यो सफल पनि भएको छ,” महतोले भन्नुभयो, “अब कृषिलाई व्यावसायीकरण गरी बढी भएको खाद्यान्न अन्यत्र बिक्री गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।” 

कृषिपछि पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको उहाँले बताउनुभयो । माडी ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र हो । यही नगरपालिकामा अयोध्यापुरी छ जहाँ राम मन्दिर निर्माण गरिएको छ । त्यसलाई प्रचारप्रसार गर्ने, मन्दिर आउने वातावरण मिलाउने, भौतिक संरचना निर्माणका लागि सङ्घ सरकारसँग पहल गर्ने, ऐतिहासिक सोमेश्वर पहाड, गोद्धक, वैकुण्ठे ताल, त्रिवेणी वाल्मीकि आश्रम, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र, सोमेश्वरको कालिका मन्दिर, नेपाल भारतको सीमा क्षेत्रलगायतको स्थान पर्यटकका लागि अति नै महìवपूर्ण क्षेत्रका रूपमा रहेको छ ।

यसलाई प्रचारप्रसार गर्न सके नगरपालिकाले राम्रो आम्दानी गर्न सक्छ, त्यसलाई हामीले दोस्रो प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेका छौँ, प्रमुख महतोले भन्नुभयो । “पर्यटन क्षेलाई मात्रै आन्तरिक आयबाट एक करोड ५० लाख रुपियाँ विनियोजन भएको छ । सङ्घ, प्रदेश र अन्य स्रोतबाट आउने बजेटबाट पनि यस क्षेत्रमा लगानी गरेर आवश्यक विकास गर्न सकिन्छ,” उहाँले भन्नुभयो । नगरप्रमुख महतो पालिकाको विकास निर्माणमा नै आफ्नो सबै समय दिने बताउनुहुन्छ ।