• ८ असार २०८१, शनिबार

यातायात कार्यालय जगातीबाट राधे राधे सर्ने भएपछि विरोध

blog

गोरखापत्र अनलाइन

भक्तपुर, असार २६ गते। भक्तपुरको जगातीबाट यातायात कार्यालय थिमिस्थित राधे राधे माइक्रोबस पार्कमा सर्ने भएपछि विरोध भएको छ।

विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको  कार्य भइरहेको कार्यालय सर्ने भएपछि यातायात व्यवसायीले विरोध गरेका हुन्। 

यातायात व्यवस्था कार्यालय जगातीमा आज स्थानीय व्यवसायी र लेखापढी व्यवसायी संघर्ष समितिले पत्रकार सम्मेलन गरेर नयाँ कार्यालय प्रमुख आउने बित्तिकै कार्यालय सार्ने बताएका छन्।

 सूर्यविनायक नगरपालिका–८ जगाती भक्तपुरमा २०७३ माघ २ गतेबाट सञ्चालनमा रहेको ‘यातायात व्यवस्था कार्यालय’ पाँच वर्षपछि राधे राधेस्थित माइक्रोबस पार्कमा रहेको भूकम्प अगाडि बनेको पुरानो घरमा सर्ने भएपछि व्यवसायीहरुले विरोध गरेका हुन्। 

सम्मेलनमा संघर्ष समितिका संयोजक लक्ष्मी कार्कीले सरकारी मापदण्डभित्रै रहेर पाँच वर्ष कार्यालय सञ्चालनमा रहेको अरनिको राजमार्गसँगैको घर छाडेर कार्यालयमा नयाँ प्रमुख नेत्र भट्टराई आए लगत्तै चलखेल गरेको आरोप लगाउनुभएको छ। 

मध्यपुरथिमिको राधे राधे (बाग्मती आयल स्टोर) पछाडि एक रोपनी जग्गामा ट्रलिबस कार्यालयको एक तले भवन र जग्गा हुँदा हुदै त्यो जग्गामा कार्यालय नसारी विधि र प्रक्रियासमेत पुरा नगरी कार्यालय सार्न लगेको उहाँको भनाइ छ। 

सम्मेलनमा व्यवासायी शिवनारायण ग्वाछाले सरकारको लाखौको लगानी रहेको ठाउँमा करोडौ लगानीको व्यवसायसमेत नोक्सानमा परेको भन्दै सेवाग्राहीलाई मर्कामा पर्ने गरी कार्यालय सार्नुले चलखेल भएको आरोप लगाउनुभयो।

सूर्यविनायक नगरपालिका-८ गुण्डुमा यातायात कार्यालयको आफ्नै भवन बनाउने प्रक्रिया सरकारले नै अगाडि बढाएको बेला भवन निर्माण कार्य अगाडि नबढाएर कार्यालय सार्न खोज्नु रहस्य भएको बताइएको छ।