अमरराज नहर्की
तनहुँ, चैत १९ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत तनहुँ जिल्लाबाट छ हजारभन्दा बढी परीक्षार्थीहरू परीक्षामा सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई तनहुँका अनुसार जिल्लाका कूल ६ हजार १५५ जना परीक्षार्थीहरू आजदेखि परीक्षाको मैदानमा उत्रिएका हुन् । जिल्लाभरका १७४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूका लागि २२ वटा परीक्षा केन्द्रहरू निर्धारण गरी परीक्षा सञ्चालन गरिएको छ ।
इकाइका सूचना अधिकारी भरत बरालका अनुसार परीक्षार्थीमध्ये नियमिततर्फ चार हजार ९४० जना र ग्रेडवृद्धितर्फ एक हजार २१५ जना छन् । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन व्यास नगरपालिकाभित्र निर्मल मावि, जलदेवी मावि, सत्यवती मावि, बालमन्दिर मावि, महर्षि वेदव्यास संस्कृत मावि र चण्डीदेवी राष्ट्रिय माविलाई केन्द्र तोकिएको छ । यस्तै, देवघाट, बन्दीपुर, आँबुखैरेनी, खैरेनीटार, दुलेगौंडा, भिमाद, ऋषिङ र घिरिङका विभिन्न २२ वटा विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी जनशक्ति परिचालन गरिएको छ ।
विशेष गरी प्राविधिक धारतर्फका परीक्षार्थीका लागि व्यास–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ भने पुरानो पाठ्यक्रम अनुसार ग्रेडवृद्धि दिनेहरूका लागि निर्मल माध्यमिक विद्यालयमा व्यवस्था मिलाइएको छ । यस्तै, देवघाटस्थित महेश संस्कृत गुरुकुल केन्द्रबाट विभिन्न गुरुकुलका विद्यार्थी र जिल्लाकै पहिलो छात्रा गुरुकुल ‘माँ कल्याणी वैदिक कन्या गुरुकुल’ का परीक्षार्थीहरूले परीक्षा दिनेछन् ।
शिक्षा विकास तथा समन्वय इकाइले परीक्षालाई भयरहित बनाउन केन्द्राध्यक्षहरूलाई आवश्यक निर्देशन र सुरक्षा निकायसँग समन्वय गरिसकेको छ । परीक्षा अवधिभर कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र परीक्षाको मर्यादा कायम राख्न जिल्लाभर कडा निगरानी बढाइएको सूचना अधिकारी बरालले जानकारी दिनुभयो । बरालले भन्नुभयो, “विद्यार्थीहरूले वर्षभरि गरेको मिहिनेत प्रदर्शन गर्ने उपयुक्त थलो परीक्षा हल नै हो । हामीले परीक्षार्थीहरूलाई विना कुनै मानसिक दबाब, अनुशासित र शान्त वातावरणमा परीक्षा दिने व्यवस्था मिलाएका छौँ ।’’