• १९ चैत २०८२, बिहिबार

अब वडाबाटै भू–सेवा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १९ गते । यसअघि झन्झटिलो रूपमा सम्बन्धित मालपोत कार्यालयबाट सञ्चालन हुँदै आएको भूमि प्रशासन सेवा केन्द्र काठमाडौँ महानगरपालिकाले वडा तहबाटै सञ्चालन गर्ने तयारी सुरु गरेको छ । पहिलो चरणमा महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट सेवा केन्द्र सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ ।

महानगरका प्रशासन प्रमुख महेश काफ्लेले आगामी वैशाख १ गतेदेखि १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा नमुनाका रूपमा वडा नम्बर ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट सो सेवा सञ्चालन गरिने छ । अब वडाबाट भूमि प्रशासन सेवामार्फत घरजग्गाको चार किल्ला सिफारिस, घरबाटो सिफारिस जस्ता सेवा सञ्चालन गरिने छ । 

भूमि प्रशासन सेवा केन्द्र सञ्चालनका लागि चैत १२ गते काठमाडौँ महानगरपालिका र महानगरभित्र कार्यक्षेत्र रहेका मालपोत कार्यालयबिच सम्झौता भएको थियो । काठमाडौँ महानगर, भूमिसुधार तथा मालपोत कार्यलय डिल्लीबजार, मालपोत कार्यालय चाबहिल र मालपोत कार्यालय कलङ्कीबिच सो सम्झौता भएको थियो । महानगरपालिकाको ४७ औँ कार्यपालिका बैठकले महानगरको नमुना कार्यक्रमका रूपमा वडा तहबाटै भूमि प्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो । अहिले त्यसकै कार्यान्वयन भइरहेको प्रशासन प्रमुख काफ्लेले स्पष्ट पार्नुभयो ।