• ८ असार २०८१, शनिबार

पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन

blog

काठमाडौं, असार २६ गते। काठमाडौंको पशुपति क्षेत्रमा दुई दिने राष्ट्रव्यापी सनातन धर्म सम्मेलन आइतबारदेखि सुरु भएको छ। राष्ट्रिय सनातन धर्म संस्कृत महासंघद्वारा आयोजित सो सम्मेलनको पूर्व उपप्रधानमन्त्री एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापाले उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष थापाले नेपालको गुमेको हिन्दू राष्ट्रको पहिचान छिट्टै पुनःस्थापित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले वैदेशिक शक्तिको बलमा जवर्जस्ती धर्मनिरपेक्षता घोषणा गरिएको बताउनुहुँदै नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनःस्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दू, बौद्ध, किराँत, शिख, जैनलगायतका सम्पूर्ण सम्प्रदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताको बारेमा प्रकाश पार्नुभयो भने कार्यक्रममा सम्मानित विशिष्ट अतिथि १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीको मुख्यस्थल भएको चर्चा गर्नुहुँदै सबै जागरुक हुनुपर्ने बताउनुभयो। 

बैंकटेश्वर मन्दिरका पीठाधिस पद्‍मधराचार्य, लोकेश्वर आश्रमका पीठाधिस दीनदयाल महाराज, किराँत धर्मगुरु मुन्धुम विद् डा. चन्द्रकुमार शेर्मा, शिख समुदायका अगुवा ज्ञानी गुरुवक्स सिंह, सनातन धर्म संस्कृति महासंघका अध्यक्ष आचार्य सुजन अधिकारी लगायतले आफ्नो धारणा राख्नुभयो। 

कार्यक्रममा प्रतिनिधिका रुपमा करिब ६० जिल्लाका धार्मिक अगुवा सहभागी हुनुहुन्छ। कार्यक्रमको बन्द सत्रमा जगमान गुरुङ ,प्रा. डा. सोमप्रसाद खतिवडा, संचारकर्मी बिनु पोखरेल, मोहन लामाले कार्यपत्र प्रस्तुत गर्नुहुने  आयोजक सस्थाका अध्यक्ष सुजन अधिकारीले जानकारी दिनुभयो। कार्यक्रम सोमबारसम्म चल्नेछ।