• ११ पुस २०८१, बिहिबार

लागेछ असार

blog

देवेन्द्र अर्याल ‘आँसु’  

भाइबहिनीहरू ! तपाईंहरूलाई थाहा नै छ, साउन भदौलाई ऋतु चक्रानुसार वर्षा भनिन्छ तर पनि लोकजीवनले असारलाई नै वर्षा वा खेतीपातीका रूपमा लिएको पाइन्छ । खासगरी मनसुन सुरु भएपछि हाम्रा गाउँघरतिर किसानलाई खेतमा धान रोप्ने चटारो बढ्छ । कृषि प्रधान देश भएकाले यहाँ असारको ज्यादै महìव  रहेको पाइन्छ । 

असारलाई मानो छरेर मुरी उमार्ने महिनाका रूपमा पनि लिइन्छ । असार महिनामा किसानहरू भोक, तिर्खा र पसिना बिर्सेर खेतीपाती गर्नमा नै व्यस्त हुन्छन् । असार पन्ध्रलाई किसानहरूले चाडका रूपमा हर्षले मनाउँछन् । असार पन्ध्रमा दही चिउरा खाएर रोपाइँ गरेर मनाउने गरिन्छ । केही वर्ष यता असार पन्ध्रलाई राष्ट्रिय स्तरमा धान दिवसका रूपमा मनाउन थालिएको छ । असारमा रोपाइँ गर्दा एक प्रकारको कर्मगीत गाइन्छ । हामी त्यसलाई असारे गीत भन्दछौँ । असार पन्ध्रमा विशेष गरी हिलो छ्यापाछ्याप गरी असारे गीत गाउने चलन पनि छ ।

तीन–चार हप्ता अगाडि नै खेतमा खनेर धानको बीउ उमार्न ब्याड तयार गरिन्छ । त्यसपछि ट्याक्टर, मानिस वा हलोद्वारा खनेर ठीक पारिएको खेतका गरामा पानी लगाएर हिलाम्मे पारिन्छ । हिजोआज ट्याक्टरले खन्ने, सम्याउने वा बाउसे गर्ने गरिन्छ । त्यसरी खनेर बाउसे गरिएको लेदो माटोमा रोपारहरूले धानका बीउ रोप्दछन् । ब्याडमा राखिएको धानको बीउलाई उखेलेर मुट्ठा पार्ने मानिसलाई बीउ काढ्ने मानिस वा ब्याडे भनिन्छ । धान रोप्ने नारीहरू रोपार हुन् भने सम्याएर माटोलाई लेदो बनाएर धानको बीउ रोप्न खेत तयार पार्ने मानिस बाउसे हुन् । यसरी असारमा धान रोप्नका लागि किसानहरूले निक्कै नै मेहनत गर्दछन् । 

सहरी क्षेत्र वरपरका गाउँघरमा आधुनिक ट्याक्टर पुगे पनि हाम्रा कैयन् गाउँघरतिर भने हलो, कुटो कोदालोमा नै किसानहरू निर्भर हुनु परेको छ । रोपाइँ गर्नका लागि पर्याप्त मात्रामा पानीको आवश्यकता पर्दछ । सिँचाइको व्यवस्था भएको ठाउँमा समयमा नै धान रोप्न सकिन्छ तर सिँचाइको व्यवस्था नभएको र आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा समयमा नै रोपाइँ गर्न सकिँदैन । सिँचाइको अभाव भएर मात्र होइन कहिलकाहीँ मलखाद, बीउबिजनका कारण पनि समयमा खेतीपाती गर्न कठिनाइ भएको पाइन्छ । हामीले कृषिलाई प्रमुख पेसा वा व्यवसायका रूपमा विस्तार गर्ने हो भने खाद्यान्नका लागि विदेशीको भरपर्नु पर्दैन । यदि सिँचाइ, मलखाद, बीउबिजन, कृषियन्त्र, अनुदानको उचित व्यवस्थापन गर्ने हो भने पक्कै भने कृषि उत्पादन बढ्न पुग्दछ । 

असारमा रोपाइँ गर्दा एक प्रकारको गीत गाइन्छ । यसरी असारमा गाइने गीत नै असारे गीत हो । त्यस्तै यस समयमा फुल्ने फूल असारे फूल हो । असारे गीत लोकजीवनले परापूर्वकालदेखि गाउँदै आएको कर्मगीतको अनुपम उदाहरण हो । जुन गीत लोकजीवनका हरेक उकाली, ओराली, चौतारी, मेलापातमा मधुर स्वरमा गुञ्जने गरिएको पाइन्छ । यस गीतमा जीवन र जगत्सँगै साइनो गाँसिएको पाइन्छ । झमझम झम्किएर परिरहेको झरीमा किसानहरू तरतर पसिना काढेर आफ्ना खेतबारीमा मेहनतसाथ बालीनाली लगाउन तम्तयार हुन्छन् । 

जब खेतका गराबाट पानीको छङछङ आवाज आउँछ तब खेत रोप्ने महिलाबाट नारीका मुक्तकण्ठबाट असारे गीत गुञ्जन थाल्दछ । जसले थकाइ र परिश्रमलाई पनि बिर्साउँछ । सबैतिर हरियाली छाउँछ जसका कारण मनै आनन्दित हुन्छ र सुरिलो कण्ठबाट असारे भाका यसरी गुञ्जन थाल्दछ । 


न भित्र खोक्रो न बाहिर बोक्रो गुलियो कसार

पूर्वको ढोका खोलेर हेर्दा लागेछ असार । 

असारे गीतहरू सबैतिर एकै प्रकारका हुँदैनन् । काठमाडौँ उपत्यकामा गाइने असारे गीतलाई नेपालको पश्चिमाञ्चलतिर काँठेभाका भनिन्छ । असारे गीत हाम्रो कर्मगीत हो । यो नेपाली लोकजीवनको पहिचान हो । ग्रामीण सभ्यताको एउटा जीवन्त पहिचान हो । जसको संरक्षण गर्नु हामी सबैको प्रमुख दायित्व पनि हो ।