गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १७ गते । चलचित्र ‘बिगुल’ को फस्र्ट लुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
तीन तरिकाका पोस्टरमध्ये एउटामा अभिनेतृ बेनिशा हमाल गम्भीर भावमा देखिनुभएको छ । दोस्रो पोस्टरमा बेनिशा, अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित मुद्रामा देखिनुभएको छ । अर्को पोस्टरमा ‘बिगुल’ का प्रमुख कलाकारलाई समेटिएको छ । चलचित्रले युवा र महिलामा चेतना जगाई भ्रष्टाचार र विकृति उन्मूलनका लागि परिवर्तनको बिगुल फुकेको कथाकार तथा निर्माता दिनेश कोइरालाले बताउनुभयो ।
चलचित्रमा बेनिशाका साथमा नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर बाङ्देललगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, संवाद, शिव ढकालको छायाङ्कन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको सङ्गीत तथा तारा थापा किम्भेको सम्पादन रहेको छ ।