• ७ वैशाख २०८१, शुक्रबार

राहदानी बनाउन साइबरमा कागज

blog

काठमाडौँ, असार २२ गते । सिन्धुपाल्चोककी कमला तामाङ (नाम परिवर्तन)लाई छिटो विद्युतीय राहदानी बनाउनुपरेको थियो तर आफ्नो पालो आउन करिब एक साता लाग्ने भएपछि उहाँ कसरी छिटो बनाउने भन्ने ध्याउन्नमा दैनिकजसो नै त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आउन थाल्नुभयो । 

ढोकामा बस्ने सुरक्षा गार्डदेखि राहदानी विभागका कर्मचारी भेटिने हरेक झ्यालमा पुगेर छिटो राहदानी लिने प्रयास गर्नुभयो तर राहदानी विभागको अनलाइन प्रणालीले तोकेको मितिभन्दा अघि प्रत्यक्ष अन्तर्वार्ता र फोटो खिच्ने काम (लाइभ इनरोलमेन्ट)मा बसेर फोटो खिच्न नपाउने भएपछि उहाँ अर्को छोटो बाटो खोज्नतिर लाग्नुभयो । 

परिसरमा त्यसरी छिटो राहदानी बनाउन खोज्ने खोज्दै हिँडेका बिचौलियासँग उहाँको जम्काभेट नहुने कुरै भएन । मिति फेरेर भोलि नै लाइभमा बस्न पाइन्छ भनेर बिचौलियाले उहाँलाई फकायो । अनि कागजपत्रसहित गोङ्गबुको एउटा साइबरमा पठायो । पालै मिचेर राहदानी पाइने भएपछि उहाँ फुरुङ्ग पर्दै साइबर पुग्नुभयो । साइबरमा बसेका व्यक्तिले उहाँको अनलाइन कागजपत्र कसो–कसो गरेर सच्याइदिए । साता दिनपछि आउने पालो भोलिपल्टकै मिति लेखिदिएर पत्र प्रिन्ट गरिदिए । 

त्यो मिति सच्याइएको पत्र लिएर भोलिपल्ट उहाँ फेरि राहदानी विभाग पुग्नुभयो । आफ्नो अन्तर्वार्ता र फोटो खिच्ने मिति आजै भएको प्रमाण विभागका कर्मचारीलाई देखाउँदै भित्र प्रवेश गर्न खोज्नुभयो । कर्मचारीले पालो हो कि होइन भनेर आफ्नो अनलाइन प्रणालीको कागजातसँग उहाँले ल्याउनुभएको पत्र रुजु गरे तर त्यहाँ त एक सातापछिको पालो थियो । “तपाईंको पालो एक सातापछि छ, यो पत्र कसरी आयो ?,” भनेर कर्मचारीले सोधे । 

कमलाले अनलाइनकै पत्र प्रिन्ट गरेर ल्याएको भनेर अडान लिनुभयो । केहीबेर भनाभन चल्यो । पछि उच्चस्तरका कर्मचारीले केरकार पारेपछि बल्ल उहाँले गोङ्गबुको साइबरबाट प्रिन्ट गरेर ल्याएको खुलाउनुभयो ।  पछिल्लो समय मिति सच्याएर अन्तर्वार्ता दिन आउने समस्या बढेपछि त्यस्ता बिचौलियालाई पक्राउ गरेर कारबाही गर्न प्रहरीको सहयोग लिएको राहदानी विभागका प्रवक्ता शरदराज अरनले जानकारी दिनुभयो । त्यसरी साइबरमा बसेर छिटो काम गराइदिने नाममा विभागको कागजपत्र सच्याउने र किर्ते गर्ने आममानिससँग अनावश्यक शुल्क असुल्ने गर्दै ठगी गर्ने एक सय जना साइबरकर्मी फेला परेको उहाँले बताउनुभयो । 

पक्राउ परेका अहिले कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तमा अनुसन्धानका क्रममा छन् । छिटो राहदानी पाउने प्रलोभनमा बिचौलियाको फन्दामा नपर्न उहाँले सेवाग्राहीलाई अनुरोध गर्नुभयो । विभागमा धेरै भीड गर्दा ढिला हुने भएकाले आफ्नो जिल्लामै राहदानी लिन आग्रह गर्नुभयो । 

विद्युतीय राहदानी लिने क्रममा यसरी साइबरमा बसेर कागजात सच्याउने र विभागको अनलाइनमा पहुँच पु¥याइने काम पुष्टि भएको खण्डमा त्यस्ता बिचौलियालाई किर्ते र साइबर अपराध दुवैथरीमा मुद्दा लाग्ने नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता नवीन्द्र अर्यालले प्रस्ट पार्नुभयो । त्यस सम्बन्धमा ब्युरोसम्म सो विषय आइनसकेको समेत उहाँले जानकारी दिनुभयो । सो सम्बन्धमा अन्य प्रहरी कार्यालयले औपचारिकता पूरा गरेर ब्युरोमा पठाउन सक्ने सम्भावना रहन्छ ।

तर, कतिपय अवस्थामा सामान्य मुद्दा हेर्ने अन्य प्रहरी चौकीमा पुगेका यस्ता ठगी र किर्तेका मुद्दा ब्युरो पुग्दैनन् । मिलेमतो र सामान्य जरिवानामा छाडिन्छन् । फेरि बिचौलियाको समूह विभागजस्तै कागजी कामकारबाहीको चाप भएका सरकारी परिसरमा सलबलाउन पुग्ने भएकाले कडा कारबाही गर्नुपर्ने माग आमनागरिक र बेला–बेलामा विभाग परिसरमा प्रदर्शनकर्ताले गर्दै आएका छन् ।