• १ मंसिर २०८२, सोमबार

सुरक्षा समितिले स्थलगत अनुगमन गरेर मतदान स्थल टुङ्ग्याउने

blog

निर्वाचनका विषयमा निर्वाचन कार्यालय लमजुङले गरेको सरोकारवालाहरुको बैठक । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, मङ्सिर १ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा कायम हुने मतदान स्थलका विषयमा सुरक्षा समितिले स्थलगत अनुगमन गर्ने भएको छ । स्थानीय तहले सिफारिस गरेका मतदान स्थल तथा केन्द्रलाई सुरक्षा समितिको अनुगमनपछि टुङ्गो लगाउने सहमति भएको हो ।  

स्थानीय तहबाट सिफारिस भई आएका मतदान स्थल तथा केन्द्रका विषयमा छलफल गरी सुरक्षा व्यस्थापन, भौगोलिक सहजता लगायतका विषयमा स्थलगत अध्ययन गरी सिफारिस गर्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । यसअघिका निर्वाचनमा तोकिएका भन्दा तीन पालिकाबाट मतदान केन्द्र थप भएर सिफारिस भएकाले सुरक्षा समितिले अनुगमन गरेर टुङ्गो लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार दोर्दी गाउँपालिका–२, मर्स्याङ्दी गाउँपालिका–३, र बेँसीशहर नगरपालिका–१० मा भौगोलिक विकटताका कारण मतदातालाई समस्या भएको भन्दै मतदान स्थल थप गर्न आग्रह भएको थियो । स्थानीय तहको सिफारिस र सम्बन्धित सरोकारवालासँगको छलफलपश्चात् सुरक्षा चुनौती र अन्य व्यवस्थापनका लागि स्थलगत निर्णय गरी पुनः छलफल गरेर सिफारिस गर्ने निर्णय भएको प्रजिअ पाण्डेले बताउनुभयो ।

यसअघि साविक कायम रहेको मतदान स्थललाई आधार मानी मतदान स्थलको नाम र ठेगानामा रहेको त्रुटि सच्याउनुपर्ने वा नयाँ मतदान स्थल थप्नुपर्ने वा साविकमा रहेको मतदान स्थल हटाउनुपर्ने वा गाभ्नुपर्ने भएमा कार्यविधिको अधीनमा रही सम्बन्धित स्थानीय तह, राजनीतिक दल र अन्य सरोकारवालासँग समन्वय गरी निर्णय सहितको सिफारिस पठाउन वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई अनुरोध गरिएको थियो ।

निर्वाचन सम्पन्न गराउनका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारणका लागि सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय सरकार तथा सरोकारवालाहरुसँग परामर्श तथा छलफलहरु चलाइरहिएको निर्वाचन कार्यालयका प्रमुख यादवराज आचार्यले जानकारी दिनुभयो ।