• १३ साउन २०८१, आइतबार

तानसेनमा छाडा पशुचौपायाको व्यवस्थापन गरिँदै

blog

तानसेन बजारमा छाडा रुपमा घुमेका पशुचौपाया । तस्बिर : रेखीराम राना

रेखीराम राना / बिन्दु थापा 

तानसेन, असार २० गते । तानसेन नगरपालिका क्षेत्रको छाडा चौपायको व्यवस्थापन गरिएको छ । तानसेन नगरपालिकाले रुरु गौसेवा आश्रमसँगको समन्वयमा गाईगोरुको व्यवस्थापन गरिएको हो ।

तानसेनको बसपार्क, टुँडिखेल, बजार क्षेत्र, बतासेडाँडालगायतका क्षेत्रमा रहेको छाडा चौपायाका कारण दुर्घटना बढेको, खेतीपाती खानेजस्ता समस्या रहेको नगरप्रवक्ता यादव सिंह कार्कीले बताउनुभयो ।

कार्कीले राष्ट्रिय जनावर संरक्षणमा टेवा पुग्न सकोस् भनेर गौसेवा आश्रम रिडीसँग समन्वय गरिएको बताउनुभयो । आश्रमका सञ्चालक शंकर गिरीले धार्मिक र वैज्ञानिक हिसाबले पनि महत्वपूर्ण रहेको गाईहरु पछिल्लो समयमा महत्वमा नपरेको बताउनुभयो । 


उहाँले स्थानीय जातका गाईको दूध, घिउ अमृत समान रहेको भए तापनि मानिसहरुमा चेतना अभावले सडकमा छाड्न थालिएको बताउनुभयो ।

उहाँले गाईको दूध, घिउ, मलमुत्र सबै औषधीय गुणले भरिपूर्ण हुने भएकाले गाईको संरक्षणसँगै चेतनास्तरमा वृद्धि गर्न आफूहरुले अभियान  सुरु गरेको बताउनुभयो । 

तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले आश्रममै पुगेर गाईको व्यवस्थापनको लागि पहल गरेको जानकारी दिनुभयो । उहाँले यो वर्ष गौसेवालाई दुई लाख बजेट विनियोजन गरिएको र आगामी वर्षबाट यो रकमलाई बढाएर गाई संरक्षण गर्ने र छाडा चौपाया व्यवस्थापन गर्ने बताउनुभयो ।