• १३ असोज २०८१, आइतबार

‘ऐना झ्यालको पुतली’ भदौमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १८ गते । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । लेखक-निर्देशकका रूपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु  हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गर्नुभएको थियो जुन १४ मिनेट अवधिको लघु फिल्म थियो । 

चलचित्रले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ तर जतिपटक उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुङ्ग हुन्छ । सुजितले किशोरीको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताउनुभयो । चलचित्रमा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । 

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको चलचित्रलाई आकाश पौडेल, प्रवीन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र  सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । चलचित्रमा अमर महर्जनको छायाङ्कन, किरण श्रेष्ठको सम्पादन, पुष्पा सङ्गमको सङ्गीत, कला सङ्ग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।