• ७ मंसिर २०८१, शुक्रबार

हराएको छैन प्याङ

blog

प्याङ अर्थात् बाँसका गिद्रा (चोया निकालेर बाँकी रहेको भित्री भाग) को प्रयोग गरी बनाइएका बट्टा । प्याङलाई स्थानीयले पोंचा भन्छन् । रैथाने सीप, ज्ञान र कच्चा पदार्थबाट बनाइने प्याङ एक समय नेपाली समाजमा दैनिक प्रयोगमा थिए । 

विशेषगरी प्याङका मानापाथी वस्तुको मापन गर्न प्रचलनमा थिए । जसलाई राज्यले समेत मान्यता दिएको थियो । यद्यपि, चोखो भाँडाका रूपमा प्याङको प्रयोग मन्दिरका बहुमूल्य गरगहना थन्क्याउन, वैद्यले औषधि राख्न, किसानले बिउबिजन, पुर्जा, तमसुकजस्ता महŒवपूर्ण कागजात सुरक्षित गर्न र घरायसी प्रयोजनमा समेत थिए ।

बाँसबाट यस्ता भाँडा बनाउने नेवार समुदायको बसोबास क्षेत्र हो, ललितपुरको प्याङगाउँ । पाँच दशकअघि यहाँका प्रायः सबैले प्याङ बनाउने गर्थे । प्याङगाउँलेहरू सातुसामल बोकेर प्याङ बनाउने बाँस खोज्दै दक्षिण ललितपुरका गोटीखेल, संखुका गाउँगाउँ चहार्थे । मकवानपुरका भित्री मधेशका जङ्गल पुगेर प्याङ बनाउने ‘हापा’ तयार पार्थे । सुसेली हाल्दै भारी बोकेर उकालो लाग्दा ‘हापा’ को ‘कुइँकुइँ’ आवाजसँगै उनीहरू फर्कन्थे, प्याङगाउँ । ८८ वर्षीय मानबहादुर महर्जन ती दिन सम्झनुहुन्छ, “महिनौँ दिन जङ्गलमा बसेर हापा बनाइन्थ्यो । कति ठूलाठूला बाँस । बाँसकै ढुङ्ग्रामा पानी बोकिन्थ्यो । हामीलाई जङ्गल जान सरकारले छुट दिएको थियो ।”

प्याङ विक्रीका लागि उपत्यका आसपासका गाउँ सहर बनेपा, धुलिखेल, पनौती, खड्पु, दाप्चा, साँखु, फर्पिङ, टिस्टुङ, पालुङ, धादिङ, त्रिशूलीसम्म पुग्थे प्याङगाउँले । त्यो बेला पैसामा होइन प्याङ दिएर अन्न लिने चलन थियो । पैसाको रूप देख्न कहाँ पाउनु ? वस्तु विनिमयको समय थियो त्यो । मानबहादुर महर्जन भन्नुहुन्छ, “जाँदा कति हलुका, आउँदा ठूलो भारी । म त बोक्न नसकेर खेप गरेर ल्याउँथेँ ।”

प्याङ बनाउन कठिन भए पनि त्यो समय बेच्नचाहिँ सजिलो भएको मानबहादुरको अनुभव छ । त्यतिबेला प्रायः प्याङका माना, कुरुवा, पाथी नै बढी विक्री हुन्थे । प्याङ दिएर मकै, धान, गहुँ, कोदो, फापर जे अन्न दिन्छन् त्यही बटुलेपछि धोक्रो कसेर घर फर्कंदा मानबहादुर हर्षित हुन्थे । प्याङगाउँका एक्ला प्याङगुरु मानबहादुर भन्नुहुन्छ, “खेतीको बेला खेतीकै काम । अरूबेला प्याङ बोकेर गाउँगाउँ धाउँथ्यौँ ।”

प्याङगाउँको ‘प्याङ’ अब कथा भए । प्याङगाउँमा पाइँदैन ‘प्याङ’ अब । पछिल्ला समय यस्तै भनाई सुन्न पाइन्छ । यद्यपि, प्याङगाउँले आफ्नो परिचयको पुनर्बहाली गर्ने प्रयास गरिरहेको छ । साविकको चापागाउँ गाउँ विकास समिति– ५ प्याङगाउँ हाल गोदावरी नगरपालिका ११ मा पर्दछ । नगरपालिकाको सहयोग र स्थानीय महादेव युवा क्लबको अग्रसरतामा युवा पुस्तालाई प्याङ तालिम दिएको छ । स्थानीय कला, संस्कृतिविज्ञ माइला महर्जनले पनि प्याङको संरक्षण र प्रवद्र्धनमा केही प्रयास गर्नुभएको थियो । माइला महर्जन भन्नुहुन्छ, “समयानुकूल विकास गर्दै यसलाई जोगाउन र व्यावसायिक रूपमा बजार प्रवद्र्धन गर्न युवा पुस्ताको ध्यान जान आवश्यक छ ।”

तत्कालीन चापागाउँ गाविसका पूर्व अध्यक्ष एवं प्याङगाउँका स्थानीय चरसुन्दर महर्जनले पनि प्याङ संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । उहाँ  भन्नुहुन्छ, “प्याङ त हाम्रो पहिचान हो । रैथाने सीप, ज्ञान र प्रविधि हो । यसलाई समयको मागअनुसार व्यावसायिक बनाउन आवश्यक छ ।”

प्याङगाउँको प्याङ सीप, ज्ञान र प्रविधिसँगै सांस्कृतिक सहरलाई युवासँग मिलेर कसरी पुनर्जीवित गर्ने भन्ने विषयमा समेत यतिबेला काम भइरहेको छ । गोदावरी नगरपालिकाले एक्मी इन्जिनियरिङ कलेज, स्टोरी साइकल र ब्रिटिस काउन्सिलसँग मिलेर प्याङ प्रयोगका विविध क्षेत्रको खोज गरिरहेको छ । पालिकाले युवा पुस्तालाई प्याङ बनाउने सीप सिकाएर उद्यमको विकास गर्ने प्रयास थालेको छ । प्याङगाउँजस्ता सांस्कृतिक सहरलाई कसरी पुनर्जीवित गर्ने ? नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन भन्नुहुन्छ, “यो त्यति सजिलो विषय त होइन तर गर्नै नसकिने पनि छैन । हाम्रो प्रयास यसतर्फ रहने नै छ ।”

लगनखेलबाट ९ किलोमिटर दक्षिणमा पर्ने प्याङगाउँमा नेवार समुदायको बस्ती छ । यहाँको भाषा अन्यत्रको भन्दा पृथक् छ । उनीहरूको पुख्र्यौली पेसा, सीप र ज्ञान नै प्याङपाथी बनाउने हो । यद्यपि, सिल्बर र प्लास्टिकले बजार कब्जा गरेसँगै प्याङ सङ्कटमा प¥यो । राज्यले वन संरक्षणको नीति लिएपछि जङ्गलमा बाँस काट्न प्रतिबन्धित भयो । जसले गर्दा प्याङगाउँले पनि आफ्नो पेसाबाट विस्थापित बने । लामो समय जागिरपछि प्याङगाउँ फर्केका जीतबहादुर  महर्जन भन्नुहुन्छ, “सानैमा सिकेको हो प्याङ बनाउन । अब गाउँ फर्केर प्याङ बनाउन सिकाइरहेको छु ।”

प्याङगुरु मानबहादुरका अनुसार प्याङ बनाउन कलिलो तामे बाँस आवश्यक हुन्छ । यो बाँस भालूले अति मन पराउने भएकाले भालूबाँस पनि भनिन्छ । युवा अवस्थाको बाँस माघतिर काट्नुपर्छ । अरू महिनामा काटिएको बाँस काम लाग्दैन । 

चुप्पीको सहायताले बाँसलाई टुक्रा बनाएपछि ‘हापा’ तयार पार्ने प्रक्रिया सुरु हुन्छ । स्थानीय जीतबहादुरका अनुसार चक्कुको सहायताले बाँसको बाहिरी भाग (चोया) निकालिन्छ । बाँकी रहेको भित्री ढुङ्ग्रोलाई माथिदेखि तलसम्म एकतर्फी काटिन्छ । यसलाई आगोमा सेकाउँदै फैलाउने (पाता बनाउने) काम गरिन्छ । त्यसका लागि काठको चिम्टाले थिचेर पाता बनाइन्छ । यसरी बनाइएको पातालाई ‘हापा’ भनिन्छ । ‘हापा’ तयार भएपछि सियो र चोयाको सहायताले आवश्यकताअनुसारको प्याङ बनाइन्छ । 

बेलाबेलाको तालिमपछि प्याङगाउँमा प्याङ बनाउन जान्ने २५ जना जति हुनुहुन्छ । उहाँहरूसँग ममः राख्ने बक्सथाली, ममः बनाउने भाँडा, मसला राख्ने बट्टा, उपहार प्याक गर्ने प्याङजस्ता सामग्री मागअनुसार बनाउने सीप छ । तालिमपछि मागअनुसार प्याङ आपूर्ति गर्न सकिने अवस्था रहेको प्याङगाउँ सांस्कृतिक युवा समाजका सम्पूर्ण महर्जन बताउनुहुन्छ ।प्याङगाउँमा प्याङकथा बताउने एक्ला बाजे हुने, मानबहादुर । उहाँले धेरैलाई प्याङ कथा सुनाइसक्नुभयो । गाउँमा घुम्न आउने पर्यटक अनि पत्रकारलाई प्याङकथा बताउने मानबहादुर भन्नुहुन्छ, “म त अब बूढो भएँ, १४ वर्षको उमेरदेखि प्याङ बनाउन थालेको हो । प्याङ बनाउने सीप छाडेर जान चाहन्छु । तपाईं पनि सिक्ने हो ?”