• १३ साउन २०८१, आइतबार

बाढी र पहिरोले अलैँची खेतीमा क्षति

blog

सिरिजङ्घा गाउँपालिकास्थित अलैँची खेती भएको क्षेत्रमा गएको पहिरो । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङमा बाढी र पहिरोले अलैँची खेतीमा क्षति पु¥याएको छ । निरन्तरको वर्षासँगै गएको पहिरोले जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची खेतीमा क्षति पु¥्याएको हो ।

एकसाता अघि निरन्तर वर्षासँगै बाढी र पहिरो जाँदा जिल्लाका अधिकांश क्षेत्रका किसानले लगाएको अलैँची खेतीमा ठूलो क्षति पु¥याएको छ । स्थानीय किसानका अनुसार औल क्षेत्रमा पाक्न लागेको (टिप्ने बेला) र लेकाली क्षेत्रमा फूल खेल्दै गरेको अलैँची खेतीमा बाढी पहिरोले क्षति पु¥याएको छ । तुलनात्मक रुपमा जिल्लाको पूर्वी क्षेत्रमा अलैँची खेतीमा बढी क्षति पुगेको छ । 

सिरिजङ्घा गाउँपालिका –५ मामाङ्खेमा मात्र करिब एक हजार रोपनी क्षेत्रफल बराबरमा लगाएको अलैँची खेतीमा बाढी पहिरोले क्षति गरेको छ । मामाङ्खेका स्थानीय कैलास माबोका अनुसार अलैँची खेती लगाएको अधिकांश क्षेत्रमा पहिरो बगेको छ भने खोला किनार क्षेत्रमा लगाएको खेती बाढीले बगाएको छ । गाउँका धेरै किसानले लगाएको अलैँची खेतीमा बाढी र पहिरोेले क्षति गरेको माबोले बताउनुभयो ।

सिरिजङ्घा गाउँपालिकाकै ५ पेदाङ र वडा ७ खेबाङमा पनि बाढी पहिरोले अलैँची खेतीमा नराम्ररी क्षति पु¥याएको छ । स्थानीय किसानका अनुसार कुनै ठाउँमा माथिदेखि झरेको पहिरोले अलैँची खेती भएको क्षेत्र पुरेको छ भने कुनै ठाउँमा पहिरो बगेर अलैँची खेती बगाएको छ । 

जिल्लाको पूर्वी क्षेत्रकै सिदिङ्वा गाउँपालिका ७ सुरुम्खिम, वडा ६ मेहेले, वडा ५ लिम्बुदिन लगायतका क्षेत्रमा किसानले लगाएको अलैँची खेतीमा बाढी पहिरोले क्षति गरेको हो । यस्तै, आठराई त्रिबेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाका किसानले लगाएको अलैँची खेतीमा पनि बाढी पहिरोले क्षति गरेको छ । 

जिल्लाको प्रमुख नगदेबाली भएसँगै अधिकांश किसानले अन्य खेती त्यागेर अलैँची खेती गर्ने्गरेका छन् । बाढी र पहिरोले अलैँची खेतीमा क्षति गरेपछि यसैमा निर्भर रहँदैआएका किसानहरु भोकमरी फैलन सक्ने भन्दै यतिबेला चिन्तित बन्न थालेका छन् । त्यसो त किसानले आफ्नो दैनिकी चलाउनदेखि सबै व्यवहार गर्न र खर्च धान्न अलैँचीबाट हुने आम्दानीले गर्ने गरेका छन् । 

यता, बाढी र पहिरोबाट क्षति बेहोर्न पुगेका अलैँची किसानले सरकारबाट राहतको समेत अपेक्षा गर्न थालेका छन् । स्थानीयसहित तीनै तहको सरकारले बाढी र पहिरोले क्षति गरेको अलैँची बगानको निरीक्षण तथा मूल्याङ्कन गरेर उचित क्षतिपूर्ति अर्थात राहत उपलब्ध गराउनुपर्ने आवाज उठ्न थालेको छ । 

जिल्लाको नौ स्थानीय तहका ६१ मध्ये ६० वटा वडामा अलैँची खेती गर्ने गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोला बाहेकका वडामा अर्थात् जिल्लामा कुल चार हजार ३०० बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट करिब तीन हजार मेट्रिकटन अलैँची उत्पादन हुनेगरेको कृषि ज्ञान केन्द्र पाँचथरको तथ्याङ्क रहेको छ । 

त्रिपाल र म्याट्रेस वितरण

यसैगरी, ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका पहिरो पीडितलाई त्रिपाल, म्याट्रेस लगायतका सामग्री वितरण गरिएको छ । निरन्तरको वर्षापछि गएको पहिरोले विस्थापित भएका र समस्यामा परेका परिवारलाई गाउँपालिकाले उक्त सामग्री वितरण गरेको हो ।

पहिरोले विस्थापित भएका र जोखिममा परेको मेरिङ्देन गाउँपालिकाका विभिन्न वडाका ४० परिवारलाई त्रिपाल लगायतका सामग्री वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) का अनुसार पहिरो पीडित परिवारलाई एक थान त्रिपाल र एक थान दरले म्याट्रेस वितरण गरिएको छ । 

यस्तै उहाँहरुलाई खानेपानीको पाइप १२ क्वेल (बन्डल) र ग्याविन तारजाली ५० थान समेत वितरण गरिएको पालिका अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो । निरन्तर वर्षा भएका कारण एक साताअघि मेरिङ्देन गाउँपालिका सहित जिल्लाका विभिन्न क्षेत्रमा पहिरो जाँदा सयौं परिवार विस्थापित भएका छन् । पहिरोले विस्थापित परिवार हाल सुरक्षित ठाउँमा त्रिपाल टाँगेर बसेका छन् । कोही परिवार आफन्तकहाँ शरण लिएर बस्दै आएका छन् ।