• १३ वैशाख २०८१, बिहिबार

वन्यजन्तुका लागि जंगलभित्र पोखरी

blog

वन्यजन्तुका लागि जंगलभित्र निर्माण गरिएको पानी पोखरी । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असार १६ गते । वनजंगलका जनावर र चराचुरुङ्गीका लागि पानी खान सहज बनाउन म्याग्दीका जंगलभित्र  पोखरी निर्माण गरिएको छ । जिल्लाका सामुदायिक वनमा उक्तखालका पानी जम्मा गर्न मिल्ने पोखरी निर्माण गरिएको हो । पानीका स्रोत खोज्दै वन्यजन्तुहरु गाउँतिर नआउन भन्ने उद्देश्यले जंगलभित्र पोखरीहरु निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

वन कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका दशवटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्ने र भूक्षय नियन्त्रण गर्ने  उद्देश्यले सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो । सामुदायिक उपभोक्ता समिति मार्फत निर्माण गरिएका  जंगलभित्र रहेका पानी पोखरीले वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा समेत उपयोगी हुने उहाँले बताउनुभयो । 

पछिल्लो समय जंगलमा रहेका वन्यजन्तुहरु पानीको खोजीकमा मानवक्षेत्र भित्र आउने भएकाले पनि उनीहरुलाई जंगलभित्र नै पानीको व्यवस्थापन गर्न खोजिएको सहायक वन अधिकृत क्षेत्रीले बताउनुभयो । जंगलमा रहेका वन्यजन्तु र चराचुरुङ्गीहरुलाई पनि पिउने पानीको आवश्यकता पर्ने हुँदा पोखरी उपयोगी हुने उहाँको भनाई छ । आगमी आर्थिक वर्षमा पनि १० वटा सामुदायिक वनमा पोखरी निर्माण गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । 

सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन कार्यालयमा १७ सामुदायिक वन समूहले प्रस्ताव गरेकोमा छनोट भएका दशवटै समूहले पोखरी निर्माण सम्पन्न गरेका छन् ।  प्रतिपोखरी निर्माणका लागि एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर ९६ हजारका दरले भुक्तानी गरिएको सहायक वन अधिकृत क्षेत्रीले जानकारी दिनुभयो । 

बेनी–९ को गलेश्वर ठूलो सल्लेरी, घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालाबन्दी, मङ्गला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पँधेरो देपुर्नेआटी, मंगला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताउनुभयो ।

६१.७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर छ । निर्माण गरिएको पोखरीमा नजिकैको मुहानबाट पाइपमार्फत पानी लगेर संकलन गरिएको छ । जंगलभित्र पोखरी निर्माण भएपछि वन्यजन्तुहरु पानीको खोजीमा मानववस्तीमा आउने क्रम रोकीने विश्वास गरिएको छ ।