• १३ असोज २०८२, सोमबार

खैरहनीमा अठार करोडको क्षति

blog

आगजनी गरिएको खैरहनी नगरपालिका कार्यालय भवन ।

चितवन समाचारदाता

चितवन, असोज १३ गते   ।  जेनजीले समूहले गरेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट खैरहनी नगरपालिकामा मात्र करिब १८ करोड रुपियाँ बराबरको क्षति भएको छ ।

भदौ २४ गते नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्थालगायतका पालिकाको कार्यालयमा तोडफोडसहित आगजनी गरिएको थियो । त्यस क्रममा नगरपालिकाको भवन, सभा हल, सवारीसाधनमा आगजनी भएको थियो । नगरपालिकाको वडा नम्बर ४ र ६ को भवनबाहेक अन्य वडामा आगजनी भएको छ । सबै वडामा तोडफोड हुनुका साथै फर्निचर र कागजात जलाइएका छन् ।

खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँले पाकिालको मुख्य कार्यालय भवन, सभा हल, सवारीसाधन, जिन्सी, औषधी पूर्ण रूपमा नष्ट हुँदा १८ करोड बराबरको क्षति भएको बताउनुभयो । प्राविधिकको मूल्याङ्कन र प्रहरीको मुचुल्काको आधारमा उक्त क्षति मूल्याङ्कन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्राविधिकलाई मूल्याङ्कन गर्न लगाएका थियौँ त्यही आधारमा विवरण उतारिएको छ । नगर, वडा सबै गरी करोडौँको क्षति भयो, ठुलो नोक्सानी भयो ।”

नगरपालिकाका अनुसार आगजनीबाट एउटा ठुलो सभा हल, प्रशासनिक भवन ब्लक नम्बर १, र ११ वटा वडा कार्यालय भवन, ब्लक नम्बर २ सँग जोडिएको एककोठे भवन पूर्ण रूपमा ध्वस्त भएको छ । त्यसै गरी स्कार्पियो गाडी तीन वटा, जेसिबी एउटा, ट्याक्टर एउटा, मोटरसाइकल दुई वटा पूर्ण रूपमा जलेर नष्ट भएका छन् । वडा नम्बर ४ र ६ को प्रशासनिक भवनमा भने आंशिक क्षति भएको छ ।

आगजनीबाट नगरपालिका कार्यालयको प्रशासनिक भवनको क्षति मूल्याङ्कन तीन करोड ५० लाख, १३ वटा वडा कार्यालयको प्रशासनिक भवनको दुई करोड ८० लाख, जिन्सी शाखामा दाखिला रहेको खर्च भएर नजाने सामग्रीको छ करोड, सवारीसाधनको चार करोड रुपियाँ बराबरको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले जानकारी दिनुभयो । 

स्वास्थ्य शाखाको मेडिकल स्टोरमा रहेका औषधी तथा मेडिकल सामग्रीको ६० लाख, जिन्सी शाखामा रहेको खर्च भएर जाने मसलन्द तथा स्टेसनरी सामग्री ४८ लाख, पशु सेवा शाखामा रहेको औषधीजन्य सामग्री ३० लाख, खैरहनी नगर अस्पतालमा क्षति भएका सामग्री १५ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा रहेको अपाङ्ग सहजीकरणको वितरणका लागि सामग्री नौ लाख र कृषि शाखाको स्टोरमा रहेका औषधीजन्य सामग्री आठ लाख रुपियाँ बराबरको क्षति भएको दाबी उहाँले गर्नुभयो ।

आगजनीबाट भवन ध्वस्त भए पनि पुरानै अवस्थामा फर्काइँदै छ । सरसफाइपछि चर्केका भित्ता फोडेर प्लास्टर गर्ने, झ्यालढोका राख्ने, रङरोगन गर्ने काम भइरहेको छ । आगजनीले सो भवन बस्नयोग्य नरहेको प्राविधिक परीक्षणले देखाएपछि मर्मतको काम भइरहेको हो । कार्यालय सञ्चालनका लागि आवश्यक सामान खरिद प्रव्रिmया पनि अगाडि बढाइएको छ । तत्कालका लागि नगरवासीको सहजताका लागि योजनाबाहेकका अन्य सेवा सञ्चालन भइसकेका छन् ।