हेटौँडा समाचारदाता
हेटौँडा, असोज १३ गते । मकवानपुर जिल्लाको मकवानपुरगढीमा छेपारोको नयाँ प्रजाति फेला परेको छ । मकवानपुरगढी गाउँपालिका–२ को कालिका सामुदायिक वनक्षेत्रमा संरक्षणकर्मीको टोलीले ‘वेन्ट–टोड गेक्को’ अर्थात् माउसुली परिवारमा पर्ने छेपारोको नयाँ प्रजाति फेला पारेको हो । यहाँ फेला परेको छेपारोको पहिचान तथा नामकरण गरिएको संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिनुभयो । मकवानपुरगढीमा भेटिएको छेपारोको नाम ‘मकवानपुरगढी वेन्ट–टोड गेक्को’ राखिएको छ । मकवानपुरगढी ऐतिहासिक र महìवको ठाउँ भएकाले यसैको नाममा नयाँ फेला परेको छेपारोको नामकरण गरिएको हो । भट्टराईको टोलीले गत जुन÷जुलाई २०२४ मा उक्त प्रजाति फेला पारेको र नयाँ प्रजाति यकिन गरेपछि हालै जर्नलमा प्रकाशित गरिएको हो ।
उक्त प्रजाति विश्वकै लागि नयाँ प्रमाणित भएको र अन्तर्राष्ट्रिय जर्नल ‘जुकिज’ मा प्रकाशितसमेत भइसकेको संरक्षणकर्मी भट्टराईले जानकारी दिनुभयो । भट्टराई फेडेरेसन युनिभर्सिटी अस्ट्रेलियामा छेपारोकै विषयमा विद्यावारिधि गरिरहनुभएको छ । त्यस्तै मकवानपुरको बागमती गाउँपालिकासँग सिमाना जोडिएको सिन्धुलीको हरिहरपुरको चुरे पर्वत शृङ्खलामा पनि छेपारोको नयाँ प्रजाति फेला परेको छ । त्यहाँ भेटिएको छेपारोको नाम ‘चुरे वेन्ट–टोड गेक्को’ राखिएको छ । उक्त टोलीले गत वर्ष पनि वेन्ट–टोड गेक्को प्रजाति अन्तर्गत नेपालबाट तीन वटा प्रजाति फेला पारी नामकरण गरेको थियो ।
गेक्कोनिडे परिवार अन्तर्गत पर्ने यी छेपारा संसारभर ३८० भन्दा बढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका दुईसहित जम्मा सात प्रजाति छन् । जसमध्ये पाँच वटा प्रजाति भट्टराईकै नेतृत्वको समूहले फेला पारी नामकरण गरेको हो । “प्रत्येक जीवजन्तुको पर्यावरणसँग महìव हुन्छ, साना जनावरको झन् महìव छ, आफूभन्दा साना जनावर खाइदिने, किरा लाग्नबाट प्रकृतिलाई जोगाउने र वरिपरिको जीवजन्तु खाइदिँदा त्यसको सङ्ख्या घट्छ,” अध्ययनकर्ता भट्टराईले भन्नुभयो । वन्यजन्तु संरक्षण अन्तर्गत सीमित वन्यजन्तु बाघ, गैँडा, हात्ती, चितुवा, सालक मात्रै भएकाले साना जीवजन्तुको संरक्षणमा पनि सरकारको ध्यान जानुपर्ने उहाँले सुझाव दिनुभयो ।
चुरे क्षेत्रमा अत्यधिक ढुङ्गागिट्टी दोहन र नवजङ्गलमा लाग्ने आगलागीका कारण थुप्रै प्रजाति विलुप्त हुने खतरामा पुगेकोप्रति संरक्षणकर्मी भट्टराईले चिन्ता व्यक्त गर्नुभयो । सरकारले ठुला प्रजातिको मात्रै संरक्षण नगरी सानाको पनि अभिलेखीकरण गर्नुपर्ने उहाँको माग छ । विगत १३ वर्षदेखि सर्प, भ्यागुता र छेपारोका विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका भट्टराईले सरीशृप प्रजाति अन्तर्गतको छेपारो धेरै चिसो भएको ठाउँमा नबस्ने गरेको जानकारी दिनुभयो । “बाहिरी वातावरणले जीवजन्तुको वासस्थान निर्धारण गर्छ, समुद्री सतहको ३५० मिटरदेखि दुई हजार मिटर आसपासमा नेपालभर छेपारो पाइन्छ,” अध्ययनकर्ता भट्टराईले भन्नुभयो । नेपाल–चीन सिमाना ल्होमन्थाङ मुस्ताङदेखि बर्दीबाससम्म उहाँले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
मकवानपुरगढी सबडिभिजनका अधिकृत निश्चल घिमिरेका अनुसार सामुदायिक वन स्थापित भएपछि रुख बिरुवा र हरियाली प्रवर्धन भएको बताउनुभयो । “समुदायको भूमिका महìवपूर्ण छ, जीवजन्तुको वासस्थान बढेको छ, जीवजन्तु जोगाउनु सबैको कर्तव्य हो,” उहाँले भन्नुभयो । स्थानीय तह, वन कार्यालय र समुदायले वन र वन्यजन्तु जोगाउँदा जीवजन्तुले पनि उपयुक्त वासस्थान पाएको उहाँको भनाइ छ ।