• १८ असार २०८१, मङ्गलबार

अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सात घाइते

blog

फाइल तस्विर

जनार्जन खत्री

सर्लाही, असार १५ गते । सर्लाहीको गोडैता नगरपालिका –४, रोहुवामा अलकत्राको ट्याङ्कर पड्किँदा सात जना घाइते भएका छन् । हुलाकी सडकमा कालोपत्रे गर्न तातो अलकत्राको ट्याङ्कर वेल्डिङ गर्नेक्रममा पड्किँदा छ जना कामदार र एक जना स्थानीयवासी घाइते भएका हुन् । 

ट्याङ्कर पड्किँदा कामदारहरु रोहुवाकै २० वर्षीय शिवुकुमार चौधरी, १७ वर्षीय अविशेक पटेल, १८ वर्षीय अनुराग चौधरी र स्थानीयवासी ३५ वर्षीय बिजुली राउत घाइते हुनुभएको छ । त्यस्तै, कामदारहरु रौतहटको माधवनारायण नगरपालिका ४ बस्ने ३० वर्षीय सुरेन्द्र हजारी, रौतहटकै गरुडा नगरपालिका ५ घर भई सर्लाहीको चन्द्रनगर गाउँपालिका ४ बस्ने ३२ वर्षीय राजीवकुमार साह र पर्साको बहुदरमाई नगरपालिका –६, गम्हरिया बस्ने ३२ वर्षीय गोपाल यादव घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार घाइते सात जनामध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते शिवुकुमार चौधरी, अविशेक पटेल, अनुराग चौधरी र सुरेन्द्र हजारीलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । 

अन्य तीन घाइतेको भने प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक यादवले बताउनुभयो । मङ्गलबार साँझ भएको सो घटनाको सम्वन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।