जीवछ यादव
लहान, चैत १९ गते। लहान नगरपालिकाको मुख्यचोकदेखि करिब १० किलोमिटर उत्तरतर्फ वडा नं.१७ मा रहेको पर्यटकीय स्थल देवीदहको विकासका लागि विष्णु महायज्ञ आयोजना गरिने भएको छ। विष्णु महायज्ञ चैत १९ गतेदेखि सुरु भएको महायज्ञ २९ गतेसम्म सञ्चालन हुनेछ।
धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण देवीदहमा विगत तीन वर्षदेखि विष्णु महायज्ञ आयोजना गर्दै मानव कल्याण र पर्यटकीय क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएको आयोजकद्वय महात्मा शिवलाल दास र चुलहाइ दासले बताउनुभयो।
उहाँहरूका अनुसार महायज्ञ सुरु भएपछि स्थानीयवासीको यस धार्मिक तथा प्राकृतिक पवित्र स्थलप्रति ध्यान केन्द्रित भएको छ। धार्मिक अनुष्ठानले आपसी वैमनस्यता घटाई सद्भाव बढाउने विश्वाससमेत लिइएको उहाँहरूको भनाइ छ।
दस दिनसम्म चल्ने महायज्ञमा करिब १० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। त्यसमध्ये लहान नगरपालिका वडा नं. १७ ले ५ लाख रुपियाँ सहयोग गरेको छ।
करिब ६ हेक्टर (नौ बिघा) क्षेत्रफलमा फैलिएको देवीदहले दस वर्षअघि नै आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा पहिचान बनाएको थियो। प्रथम राष्ट्रपति रामवरण यादवले पनि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत देवीदहको संरक्षण र विकासबारे अवलोकन गरी चासो व्यक्त गर्नुभएको थियो।
देवीदहमा आउने पर्यटकलाई मनोरञ्जन गराउन साना–ठूला चारवटा डुङ्गा उपलब्ध गराइएका थिए। तर हाल ती डुङ्गा बिग्रिएर प्रयोगविहीन अवस्थामा पुगेका छन्।
लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीले भन्नुभयो, “देवीदहको संरक्षण र सौन्दर्यकरणका लागि आर्थिक वर्ष २०७७/७८ मा विकास एण्ड बस्नेत जेभी, जनकपुर ले ६ करोड ९३ लाख ५२० रुपियाँ २३ पैसा मा ठेक्का लिएको थियो। सो अनुसार काम सम्पन्न भएको भए देवीदहको विकासले निकै गति लिइसकेको हुन्थ्यो। तर लहान नगरपालिकाले उक्त ठेक्काका लागि वहन गर्नुपर्ने १ करोड ८० लाख रुपियाँ दायित्व नलिँदा अपेक्षित विकास हुन सकेन।”
लहान नगरपालिकाले पर्याप्त चासो नदिँदा देवीदहको सौन्दर्यकरणका लागि मधेश प्रदेशसभा सदस्य ललितादासले उपलब्ध गराएको २५ लाख रुपैयाँ बाट काम सुरु गरिएको देवीदह वन उपभोक्ता समितिका अध्यक्ष कपलेश्वर यादवले बताउनुभयो।
वर्तमान सरकारले पर्यटकीय क्षेत्रको विकासमा प्रतिबद्धता जनाएको तथा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले पनि देवीदहको विकास र उत्थानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि स्थानीयवासीमा आशा जागेको छ।