• १९ चैत २०८२, बिहिबार

राजविराजमा सडक विस्तारका लागि अतिक्रमित संरचना हटाइँदै

blog

राजविराजस्थित गजेन्द्र चोकमा सडक अतिक्रमण गरेर बनाइएको संरचना हटाइँदै। तस्बिर : सुधा देव

सुधा देव 
भारदह (सप्तरी), चैत १९ गते।
राजविराज नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने काम सुरु गरेको छ। हनुमान मन्दिरदेखि नेता चोकसम्मको सडकखण्डमा अतिक्रमण गरेर बनाइएका संरचनामा नगरपालिकाले डोजर चलाएर भत्काउन थालेको हो।

मुख्य सडकको स्तरोन्नति तथा सौन्दर्यीकरणका लागि सडक अतिक्रमण गरी निर्माण गरिएका विभिन्न संरचना हटाइएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले जानकारी दिनुभयो।

उहाँका अनुसार सडकको बिच भागबाट ९–९ मिटर गरी जम्मा १८ मिटर क्षेत्रभित्र पर्ने सबैखाले संरचना हटाउन थालिएको छ।

स्थानीय प्रशासनको सहयोगमा बुधबार बिहानदेखि डोजर प्रयोग गरी सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको उहाँले बताउनुभयो।

सडक स्तरोन्नति तथा सौन्दर्यीकरण कार्यका लागि सडक डिभिजन कार्यालयबाट ठेक्का भई निर्माण कार्य प्रारम्भ भइसकेको उहाँले जानकारी दिनुभयो।

राजविराज नगरपालिकाको कार्यवाहक जिम्मेवारी सम्हालेयता उहाँले नगरपालिकाका विभिन्न विकासका कामलाई निरन्तर अघि बढाइरहेको स्थानीयवासीको भनाइ छ।

पछिल्लो समय राजविराजको मुख्य बजार क्षेत्रको सडक वर्षौंदेखि स्तरोन्नति हुन नसकेको अवस्थामा बजार र सडकको स्तरोन्नतिका लागि उहाँ सक्रिय रूपमा लागिरहनुभएको स्थानीय एकता चौधरीले बताउनुभयो।