बनेपा समाचारदाता
बनेपा, असोज ६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्गको भक्तपुरदेखि सिन्धुपाल्चोकसम्मको सडकको अनुगमन गर्नुभएको छ ।
मन्त्री घिसिङले सोमबार अरनिको राजमार्गको विस्तारित सूर्यविनायक–धुलिखेल सडक, धुलिखेल–खावा सडकका साथै अरनिको राजमार्गको सिन्धुपाल्चोकसम्मको सडकको अवस्थाको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा सडक निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीसँग आयोजनाको विषयमा छलफल गर्नुभएको थियो । सडक अनुगमनमा निस्कनुभएका मन्त्री घिसिङले दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै सडकको खाल्डाखुल्डी पुरेर सतह मिलाई यातायात आवागमनलाई सहज बनाउन निर्देशन दिनुभएको थियो ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिन्टेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले निर्माणाधीन सडकको अनुगमन गर्ने क्रममा मन्त्री घिसिङले सहज रूपमा यातायात सञ्चालनको वातावरण मिलाउन निर्देशन दिनुभएको बताउनुभयो । उहाँले मन्त्री घिसिङले निर्माणाधीन सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गतको सडकलाई असार मसान्तभित्र कालोपत्रे सक्न सडक विभाग, आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । सडक विस्तारको ठेक्का पाएका निर्माण व्यवसायीले आफूहरू काम गर्न तयार रहे पनि बजेट अभावका कारण काममा समस्या भएको गुनासो गर्नुभएको थियो ।
निर्माण व्यवसायीको गुनासोसँगै विभागका महानिर्देशक विजय जैसीले सूर्यविनायक–धुलिखेल सडक आयोजनाका लागि तीन अर्ब रुपियाँको बजेट आवश्यक भए पनि न्यून मात्रामा बजेट विनियोजन गरिएको बताउनुभयो । मन्त्री घिसिङले निर्माणाधीन राजमार्गले नेपाल र चीनको सीमा जोड्ने मुख्य सडक रहेकाले बजेट अभावका कारण आयोजनाको काम नरोकिने प्रतिबद्धता जनाउनुभयो । आयोजना अन्तर्गत भक्तपुर र काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा सडक सीमा विवाद र घरटहरा हटाउने विषयमा समस्या देखिएकाले तत्काल समाधान गर्न निर्देशनसमेत दिनुभएको थियो ।
मन्त्री घिसिङले लामो समयदेखि अलपत्र अवस्थामा रहेको धुलिखेल–खावा सडकको विषयमा समेत जानकारी लिनुभएको थियो । सडक डिभिजन भक्तपुका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले धुलिखेल–खावा सडकको ठेक्का पाएको निर्माण व्यवसायीसँग ठेक्का रद्द भएपछि नयाँ ठेक्का आह्वान भएको र हाल उक्त सडकको ठेक्काको मूल्याङ्कनको काम भइरहेको जानकारी गराउनुभएको थियो । मन्त्री घिसिङले धुलिखेल–खावाको बाँकी काम छिटोभन्दा छिटो सकेर ठेक्का सम्झौता गरी समयमा नै सक्न निर्देशन दिनुभएको थियो ।
अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १६ किलोमिटर सडकलाई छ लेनमा विस्तार गर्ने काम भइरहेको छ । धुलिखेल–खावाको करिब साढे चार किलोमिटर सडक विस्तारको काम सुरु भए पनि निर्माण व्यवसायीको ढिलाइका कारण ठेक्का रद्द भई नयाँ प्रक्रिया अघि बढाइएको छ । काभ्रेपलाञ्चोकतर्फको सडकको अनुगमन गरी मन्त्री घिसिङ सिन्धुपाल्चोकतर्फको सडक अनुगमनका लागि जानुभएको थियो ।