शालिग्राम नेपाल
चितवन, असोज ७ गते । मुग्लिन मलेखु सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो जाँदा सोमबार राति १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।
ठुलो पहिरो आएका कारण अवरुद्ध सडक खुलाउन मङ्गलबार दिनभर लाग्ने भएको छ । मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठुलो भएकाले आज दिनभर सवारी सञ्चालन हुन नसक्ने जानकारी दिनुभयो ।
राति १२ बजे पहिरो आएपछि तत्काल काम गर्न नसकिएको उहाँले बताउनुभयो । पहिरो पन्छाउने तयारी भए पनि रातिको समयमा जोखिम हुने भएकाले आज बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ । अहिले पनि पहिरो खस्ने क्रम भएकाले काम गर्न कठिन भएको कार्यालय प्रमुख नेपालले जानकारी दिनुभयो । पहिरो खस्न रोकिएपछि पन्छाउने काम हुनेछ ।
चितवनबाट राजधानी जाने र पोखराबाट राजधानी जाने सवारी साधनले वैकल्पिक बाटो अपनाउन कार्यालय प्रमुख नेपालले अनुरोध गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘‘पोखरा र चितवन हुँदै काठमाडौँ जाने सवारी साधनलाई हेटौँडाको सिस्नेरीबाट जान अनुरोध गर्दछु । पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले यो बाटो भएर यात्रा गर्ने योजना नबनाउन अनुरोध छ ।’’
शुक्रबार पहिरो आएर आइतबार साँझ मात्र सञ्चालन आएको मुग्लिन नारायणगढ सडकखण्ड मङ्गलबार जवाङ खोलामा आएको पहिरोले गर्दा पुनः राजधानी जोड्ने राजमार्ग अवरुद्ध भएको हो ।