गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ७ गते । चलचित्र ‘जेरी अन टप’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । बडादसैँको घटस्थापनाको अवसरमा निर्माण ब्यानर अनन्या फिल्म्सले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेतृ आँचल शर्माको अभिनय रहेको छ ।
मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्य भिडियोमा कैद गरिएको छ । उच्च मेकिङ र कलरफुल देखिने भिडियोमा कोरियोग्राफी किरण थापाको छ । गीतका शब्द र भिडियोमा समावेश दृश्य प्रेमिल छन् । आशिष गुभाजु र सदीक्षा कट्टेलको स्वर रहेको गीत सङ्गीतकार जयन जे वाइबाले तयार पार्नुभएको हो । वाइबाकै शब्द रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा अनमोल र आँचलसँगै अभिनेतृ जसिता गुरुङ, हास्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गीलगायतको अभिनय रहेको छ ।