• ७ असोज २०८२, मङ्गलबार

सिकाली जात्रा सुरु

blog

गोरखापत्र समाचारदाता

ललितपुर, असोज ७ गते । बडादसैँको पहिलो दिन घटस्थापनामा नेपालीको घर घरमा शैलपुत्री देवीको पूजाअर्चना गरी जमरा राखिएको छ तर ललितपुरको खोकनामा दसैँको घटस्थापना होइन सिकाली जात्रा (रुद्रायणी नाच) को चहलपहल सुरु भएको छ । 

घटस्थापानादेखि नै सिकाली जात्रा सुरु हुन्छ । स्थानीय कृष्णगोपाल महर्जनका अनुसार पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ । षष्ठीमा सिकाली मन्दिरमा रुद्रायणी देवगणले नृत्य प्रस्तुत गर्छन् । सोही दिन गुठीका १४ जनाले विभिन्न देवीदेवताको भूमिकाको ख्वापाः (मुकुन्डो) र वस्त्र लगाएर मन्दिरपरिसरमा नृत्य देखाउँछन । गुठीका बैदार बेखनर महर्जनले सिकाली जात्राका बेला देखाइने नाचको जिम्मा रुद्रायणी गुठीमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गुठीमा रहेका ४६ जना देवगण (गुठियार) बिच कार्यविभाजन गरिएको हुन्छ । सबै जना महर्जन÷डङ्गोल खलकका हुन्छन् ।”

उहाँका अनुसार सिकाली जात्रा अन्तर्गत १४ देवीदेवता (रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, वाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार) को नाच देखाइन्छ ।

गुठीका सदस्य महर्जनले सबै देवगणलाई मन्दिरभित्र लगेर वीरभद्र, महाकालीका रूपमा तान्त्रिक विधिबाट मन्दिरबाहिर निकालेपछि सिकालीपरिसरमा नचाइने जानकारी दिनुभयो । सिकाली चौरबाट नाच्दै देवगणले गाउँ परिक्रमा गर्छन् । रुद्रायणी गुठियार सिकाली चौरमा मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषमा धार्मिक मान्यता अनुसार अश्वमेघ यज्ञमा सहभागी हुन्छन् । यो नै जात्राको मुख्य आकर्षणका रूपमा रहेको छ । महर्जनले चौरमा नृत्यमार्फत देवगणले यज्ञमा सेतीदेवी होमिँदा वीरभद्र र महाकाली जागी यज्ञ विध्वंस गरेको दृश्य देखाइएको बताउनुभयो ।

सप्तमीका दिन खोकना तल्लो लाछी टोलको डबलीमा नाच देखाउने प्रचलन छ । उक्त नाचलाई महालक्ष्मीले महिषासुरलाई वध गरी खुसियाली मनाएको नाच (लसता प्याँख) का रूपमा लिइन्छ । जुन जात्राको मुख्य रौनकका रूपमा लिइन्छ । महर्जनका अनुसार सप्तमीका दिन राति क्वँलाछीमा नाच देखाइन्छ । अष्टमीमा रुद्रायणी मन्दिरमा मूर्ति र ख्वापाः पुनः प्रतिस्थापन गरिन्छ । जात्राकै समयमा त्यहाँ आफन्तलाई बोलाइन्छ र भोज गरिन्छ ।

किन मनाइँदैन दसैँ ?

खोकनामा दसैँ नमनाइनुको रोचक किंवदन्ती छ । महिषासुर नामको दानवले देवतालाई धेरै दुःख दिएपछि देउताले उसलाई खोज्न थाले । जति खोज्दा पनि महिषासुर भेटिएन र देवताले मायादेवीको क्षमापूजा गर्ने निधो गरे । भैरव, काली, कुमारी र वाराहीलाई भोग चढाउन बलि दिइयो । समस्या समाधान भयो तर फेरि केही समयपछि उस्तै अवस्था आएपछि राक्षसबाट बच्न बस्ती नै सार्ने निधो गरियो, अहिलेको खोकनामा ।

देवीले नयाँ स्थानमा बस्न त मानिन् तर भोग लिन मानिनन् । त्यसैले भोग भने रुद्रायणी मन्दिरमा नभई पुरानो मन्दिर भएको स्थान सिकालीमा लगेर चढाइन्छ । अहिलेसम्म त्यही परम्परा निरन्तर चलिआएको छ । पहिले यो जात्रा गाईजात्राको बेला मनाइने भए पनि बस्ती सार्दा जात्राको तिथि पनि परिवर्तन गरिएकाले नयाँ तिथि निकाल्दा दसैँमा जुर्न गएको बताइन्छ । त्यसपछि खोकनावासीले दसैँ नभई सिकाली जात्रा मनाउन थालेको स्थानीयको भनाइ छ ।