गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ७ गते । विकास साझेदारहरूले बदलिएको परिवेशमा नेपालको आर्थिक सुधार र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री रामेश्वर खनालसँग सोमबार फरक फरक समयमा भएको भेटका क्रममा नेपालस्थित विकास साझेदारका प्रतिनिधिले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
अर्थमन्त्री र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनबिचको भेटका क्रममा नेपालको हालको परिवर्तित अवस्था र अमेरिकाले नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भयो । छलफलमा अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमबाट निजी क्षेत्रको मनोबल उठाउनेमा सरकार केन्द्रित रहेको बताउनुभयो । अमेरिकी राजदूत थम्प्सनले एमसिसीको कार्यान्वयनमा सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
सोमबार नै अर्थमन्त्री खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख जहान सारवतबिच भएको भर्चुअल बैठकमा आर्थिक सुधारका कार्यक्रमको निरन्तरताका विषयमा छलफल भएको थियो । सो क्रममा (आइएमएफ) का नेपाल प्रमुख सारवतले नेपालमा आर्थिक सुधारका कार्यक्रममा नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराउनुभयो । अर्थमन्त्री खनालले कोषसमेतको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने बताउनुभयो ।
सो क्रममा कोषमा सहयोगमा कार्यान्वयन भइरहेको विस्तारित कर्जा सुविधाको कार्यान्वयनको अवस्था समीक्षा गरी यसको छैटौँ समीक्षा प्रतिवेदन छिट्टै कोषको बोर्ड बैठकमा पेस गर्ने विषयमा पनि छलफल भएको थियो ।
अर्थमन्त्री खनाल र एसियाली विकास बैङ्क (एडिबी) का राष्ट्रिय निर्देशक आर्नो कोस्वाबिच भएको अर्को छलफल भएको थियो । अर्थमन्त्री खनालले परिवर्तित समयमा युवाको चाहनाबमोजिम सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराउनुभयो । उहाँले एडिबीका लगानी भएका चालु आयोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एडिबीका राष्ट्रिय निर्देशक कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराउनुभयो ।